सत्ता गठबन्धनमा नयाँ सरकारकाे नेतृत्व भन्दा पनि पद बाँडफाँड नै टाउको दुखाई

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । चारवटामा मतगणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा १५ मंसिरभित्र पुनः निर्वाचन गराउन निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । त्यसैले त्यहाँ निर्वाचन भएर अन्तिम नतिजा आउन २० मंसिरसम्म लाग्ने आयोगको अनुमान छ ।

आयोगले समानुपातिक निर्वाचनको मतगणना पनि अन्तिमतिर पुर्याएको छ । अहिलेसम्म ९३ लाख २६ हजार १५७ मतगणना भइसकेको आयोगले जनाएको छ । एक करोड सात लाख मत खसेकोमा अब १६ लाखभन्दा बढी गणना गर्न बाँकी छ । आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सिट आउला रु यो अझै प्रष्ट छैन । अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।

अबको दुई साताभित्र नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने घनीभूत छलफल हुने भएको छ । सत्तागठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना पनि प्रबल छ । खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुखाईको विषय बनेको छ । धेरै दलका धेरै आकांक्षीाका कारण वर्तमान सत्ता गठबन्धनलाई त्यो अर्को चुनौति हुन सक्छ ।

गठबन्धनमा रहेका दलमध्ये जति प्रधानमन्त्रीका आकांक्षी छन् त्यति नै संख्यामा भावी राष्ट्रपतिको आकांक्षी रहेका छन् ।

समाचार स्रोतका अनुसार यति बेला सके प्रधानमन्त्री नभए भावी राष्ट्रपति हुने दाउमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल हुनुहुन्छ ।

यसैगरि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समेत प्रत्यक्ष चुनावमा नउठी बस्नु भएको कारण भावी राष्ट्रपति बन्ने योजना मुताविक नै हो भन्ने पनि यस अघि नै हल्ला चलेको थियो । यसैगरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चुनावमा पराजय भोगेपछि सोही दाउमा हुनु भएको चर्चा छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सोही चाहनामा रहनु भएको नेताहरु बताउँदै आएका छन् ।

यतिबेला कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । त्यसमा पनि कांग्रेस भित्र आधा दर्जन आकांक्षी छन् । आकांक्षी धेरै भएपछि कांग्रेसले सरकारको नेतृत्व नगर्ने पनि अनुमान हुन थालेको छ । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै हुनु स्वाभाविक मानिन्छ । आकांक्षी र पद बाँडफाँडका कारण यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके, अर्को विकल्प खुला हुनसक्छ ।

अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थाल्नु हुने छ। तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ । यसैगरि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताले प्रधानमन्त्रीको आकांक्षा राख्दै दौडधुप थाल्नु भएको छ ।

उता एमाले अध्यक्ष केपी ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुट्नु भएको छ । त्यसका लागि उहाँले वाम एकताको नारा अघि सार्नु भएको छ । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उहाँ लाग्नु भएको चर्चा छ। स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थाल्नुभएको छ । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन कठिन छ ।

प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सिट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सिट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सिट हुन्छ । अझै ओलीलाई ६९ सिट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्ने नेताहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?