सोसलिस्ट इन्टरनेशनलको अध्यक्षमा स्पेनका प्रधानमन्त्री पेड्रो र उपाध्यक्षमा खगेन्द्र जिसी सर्वसम्मत चयन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सोसलिस्ट इन्टरनेशनलको अध्यक्षमा स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज सर्वसम्मत चयन हुनुभएको छ । स्पेनको म्याड्रिडमामा नोवेम्बर २५-२७, २०२२ बाट सुरु भएको तीनदिने विश्व भरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा पेड्रो अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो ।

उक्त महाधिवेशनमा खगेन्द्र जिसीले नेपाली कांग्रेसकोतर्फबाट नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षको रूपमा प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

यसअगाडि नेपाली कांग्रेसका सभापतिद्वय, बीपी कोइराला र शेरबहादुर देउवाले विश्व भरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको नेपाली कांग्रेसको प्रतिनिधित्व गरी उपाध्यक्ष जितेर प्रतिनिधित्व गर्नुभएको थियो । उक्त गौरवशाली संगठनमा नेपाल र नेपाली कांग्रेसको तर्फबाट जनसम्पर्क समिति अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले जनसम्पर्क समिति पूर्वअध्यक्षका हैसियतले र वेदप्रसाद खरेल नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य, नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वसहसयोजकका हैसियतले भाग लिनुभएको थियो ।

नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहँदै आएको छ । महाधिवेशनको क्रममा जिसी र खरेलसँग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी वेदप्रसाद खरेलले जानकारी दिनुभयो ।

भौगोलिक सन्तुलन र लैगिंक सन्तुलन सुनिश्चित गर्न सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर, उम्मेदवारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिक क्षेत्रबाट आठजनाको उम्मेदवारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्ष रहेका थिए । हाल विधान संशोधन गरेर ३६ जना बनाइएको थियो ।

प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षको संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सिटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ । ५० वर्षीय पेड्रो साञ्चेजले ग्रीसका पूर्वप्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ । महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता थियो ।

सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने साञ्चेज निर्विरोध निर्वाचित हुनुभएको हो । घानाकी बेनेडिक्टा लासी सोसलिस्ट इन्टरनेशनलको पहिलो महिला र अस्वेत महासचिव बन्नुभएको छ । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनुअघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गर्नुभएको थियो । र, पछि सन् २०१७ मा उहाँ संयुक्त राष्ट्र महासचिव बन्नुभएको थियो । महाधिवेशनमा खगेन्द जिसी र वेदप्रसाद खरेलले नेपाली कांग्रेस, लैंगिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा कुरा राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?