राप्रपा नेपाल र विवेकशील साझा पार्टीको अस्तित्व संकटमा

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुग्दै गर्दा संसद्मा राजनीतिक दलहरूको हैसियत र उपस्थितिको चित्र लगभग स्पष्ट भइसकेको छ । संसद्मा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो दल स्पष्ट भए पनि त्यसपछि कुन दलको कस्तो उपस्थिति हुन्छ भन्ने स्पष्ट हुन सकेको छैन । यो निर्वाचनबाट कतिपय अप्रत्याशित नतिजासमेत आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नतिजाले मुलुकको राजनीति र ठूला तथा स्थापित राजनीतिक दलमा तरंग उत्पन्न भएको छ । पुरातनवादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले यो निर्वाचनबाट मुलुकको राजनीतिमा बलियो पुनरावृत्ति गरेको छ ।

यो आम निर्वाचनबाट केही राजनीतिक दलहरूको भने अस्तित्व संकटमा परेको छ । गत वर्ष मंसिरमा काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा पराजित भएपछि रन्थनिनुभएका तत्कालीन राप्रपा अध्यक्ष कमल थापाले सोही वर्ष फागुन ७ गते आफ्नै नेतृत्वमा राप्रपा नेपाल नाम दिएर पार्टी घोषणा गर्नुभयो । तीस वर्षभन्दा बढी लामो समय बिताएको राप्रपाबाट अलग मात्र हुनुभएन थापाले आफूलाई राजनीतिमा अस्तित्व दिएको संवैधानिक राजसंस्थाको मुद्दासमेत परित्याग गर्नुभयो ।

नयाँ पार्टी गठनपछि थापा नेतृत्वको पार्टी राप्रपा नेपालले पहिलोपटक गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिए पनि परिणाम निकै निराशाजनक आयो । स्थानीय तह निर्वाचनबाट नाजुक परिणामको धक्का व्यहोरेपछि कुनैबेला मुलुकको राजनीतिका खतरानाक खेलाडीको रूपमा परिचित थापा स्थापित राजनीतिक दलको सहाराको खोजी थाल्नुभयो । राजनीतिमा अस्तित्व जोगाउन थापालाई नेकपा एमालेको साहारा मिल्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर कमल थापा चुनावमा होमिनुभयो ।

मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको लागि लड्नुभएका थापाको सूर्य चुनाव चिन्हले पनि संकट टार्न सकेन । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडे पनि थापा आफ्नै पूर्वपार्टी र सहकर्मीसँग निकटतम् प्रतिस्पर्धीसमेत हुन सक्नुभएन । उक्त क्षेत्रका थापाकै पूर्वपार्टी राप्रपाका उम्मेदवार दीपक सिंह २७ हजार ८१६ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो । एमालेको चुनाव चिन्ह सूर्यबाट चुनावी मैदानमा उत्रिनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउन विवश हुनुभयो । आफ्नो सिद्धान्त विपरीतको पार्टीको चुनाव चिन्हबाट पनि पार नलागेपछि कमल थापा अहिले विक्षिप्त अवस्थामा हुनुहुन्छ । थापाको राजनीतिक अवशानसँगै उहाँकै नेतृत्वको पार्टी राप्रपा नेपाल पनि अस्तित्व संकटको अवस्थामा पुगेको छ ।

वैकल्पिक शक्तिका संस्थापकहरूको जमानत जफत
२०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि मुलुकको राजनीतिमा वैकल्पिक शक्तिको ठूलो बहस चल्यो । बहसका बीच वैकल्पिक शक्ति भन्दै विवेकशील पार्टी गठन भयो । त्यस्तै, राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै बिबिसी नेपाली सेवाको जागिर छोडेर रवीन्द्र मिश्र साझा पार्टी गठन गरेर राजनीतिको मैदानमा उत्रिनुभयो । सुरुमा यी दुई पार्टीप्रति आमनागरिक र खासगरी स्वतन्त्र मतदाताको आकर्षण लोभलाग्दो देखियो । परिणामस्वरूप संविधान जारी भएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यी दुई पार्टीको पक्षमा अनपेक्षित जनमत देखियो । स्थानीय तहमा देखिएको जनमतका कारण विवेकशील र साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बन्यो । एकतापछि विवेकशील साझाले २०७४ सालमा पहिलोपटक संसदीय चुनावको सामना ग¥यो । अपेक्षित परिणाम ल्याउन नसके पनि आम मतदाताको आकर्षण कायमै रहेको देखियो । तर, चुनावपछि असन्तुष्टिसँगै विभाजनको शृंखला सुरु भयो । फलस्वरूप गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन र मंसिर ४ गते सम्पन्न आम निर्वाचमा यो पार्टीको अस्तित्व नै संकटमा परेको छ ।

विवेकशील साझाका संस्थापक र कुनै बेलाका चर्चित अनुहार यसपटक जमानत जोगाउनसमेत असफल भए । विवेकशीलकी संस्थापक सदस्यसमेत रहनुभएकी राजनीतिमा कुनै बेलाकी चर्चित नेत्री रञ्जु दर्शनाको जमानत जफत भयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गर्दै २३ हजारभन्दा बढी मत ल्याएर राजनीतिमा तरंग उत्पन्न गराउन सफल हुनुभएकी दर्शनाले यसपटक प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको थियो । तर, दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत अर्थात् ६ सय मत मात्र ल्याउनुभयो । विवेकशील साझाकै पूर्व-संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवार रहनुभएका पाण्डेले जम्मा २३ सय २७ मत प्राप्त गर्नुभयो । यो कुल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार ९४६ मत प्राप्त गर्नुभएको थियो । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कुनै समय विवेकशील साझाका चर्चित नेताहरू अहिले अर्को पार्टीमा लागेका छन् । विवेकशील साझाका पूर्व-संयोजक रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेर काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरे पनि पराजित हुनुभयो । यस्तै, विवेकशील साझाका संस्थापकमध्ये एक पुकार बमले पनि पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभयो । काठमाडौं १ बाट उम्मेदवारी दिए पनि बम पराजित हुनुभयो । विवेकशील साझाबाट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य जित्नुभएका विराजभक्त श्रेष्ठ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार श्रेष्ठ काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

समानुपातिकतर्फ पनि निराशाजनक
समानुपातिकमा पनि राप्रपा नेपाल र विवेकशील साझाको मत निराशाजनक छ । समानुपातिकतर्फ पछिल्लो मत परिणाममा राप्रपा नेपाल २३औँ स्थानमा छ । राप्रपा नेपालले हालसम्म देशभरबाट ल्याएको कुल मत १० हजार ५८२ मात्र छ । जबकि राष्ट्रिय पार्टीको मान्यता पाउन तीन लाख हाराहारीमा मत ल्याउनुपर्छ । यता, समानुपातिकमा पनि विवेकशील साझा पार्टीको अवस्था उस्तै दयनीय छ । कुनै बेला सम्भावित वैकल्पिक शक्तिका रूपमा समेत हेरिएको यो पार्टीको अवस्था के छ ? भन्ने समानुपातिक मतले प्रष्ट गर्छ । समानुपातिकतर्फ ४७ वटा राजनीतिक दलको सूचीमा विवेकशील साझा अन्तिमबाट १२औँ स्थानमा छ । देशभरबाट यो पार्टीले अहिलेसम्म ल्याएको मत तीन हजार ७५९ मात्र हो । कुनैबेला राजनीतिक मुद्दाले छुट्टै अस्तित्व देखाउन सफल राप्रपा नेपाल र विवेकशील साझाको अहिले अस्तित्व नै संकटमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?