३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न उम्मेदवारलाई आयोगको निर्देशन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सहभागी उम्मेदवारलाई निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ बमोजिम तोकिएको ढाँचामा निर्वाचन खर्चको विवरण ३५ दिनभित्र पेश गर्न सबै उम्मेदवारलाई निर्देशन दिएको हो । निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसार निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले पन्ध्र दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भन्दै उक्त विवरण पनि उल्लेख गर्न निर्देशन दिइएको छ । यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।

उदयपुर र सुनसरीमा मतगणना सुचारु गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि उदयपुरमा नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ । विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेको थियो । आयोगले सोमवार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा खड्काले अग्रता कायम गर्नुभएको छ । यस्तै सुनसरी क्षेत्र नम्बर ४ मा अस्ति शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सञ्चारमञ्त्री समेत रहनुभएका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएको भन्दै पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो । तर आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गन्न निर्देशन दिएको छ । ६० हजारभन्दा धेरै मतगणना हुँदा कार्कीले एमालेका जगशीदप्रसाद कुसियैतलाई ९८ मतले पछि पार्नुभएको छ । यसैबीच मंगलवार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनमत र एकीकृत समाजवादी पार्टी थ्रेसहोल्ड कटाउने संघर्षमा
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न थालेको छ । सोमबार मध्यरातिसम्म ९५ लाखभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्म पहिलो स्थानमा नेकपा (एमाले) छ । एमालेले २५ लाख ६३ हजार मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३१ ह्जार मत पाएको छ । प्राप्त पछिल्लो मतपरिणाममा माओवादी केन्द्र केही हजार मतले घन्टी चिन्ह भएको रास्वपाभन्दा अघि लागेको छ । माओवादी केन्द्रले १० लाख ८७ हजार मत पाएको छ । रास्वपाले १० लाख ६८ हजार मत पाएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४८ हजार, छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख ४१ हजार मत पाएको छ । सातौं स्थानमा रहेका जनमत पार्टीले दुई लाख ८४ हजार र आठौँ स्थानको नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ६१ हजार मत प्राप्त गरी तीन प्रतिशतको थ्रेस होल्ड कटाउने संघर्षमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?