नयाँ सरकार गठनका लागि छिमेकीको चासो, शीर्ष दलहरू गृहकार्यमा व्यस्त

यज्ञराज पाण्डे
Read Time = 11 mins

काठमाडौं । जबजब नेपालमा नयाँ सरकारको खेल सुरु हुन्छ विदेशी चासो बढ्ने गरेको देखिन्छ । सरकार निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आइरहेको नेपालको नजिकको छिमेकी राष्ट्र भारतले चासो देखाइसकेको छ । नेपालको आन्तरिक मामिलाका विषयमा भारतले सबैभन्दा बढी चासो राख्दै आइरहेको छ । नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै नयाँ सरकार निर्माणको खेल सुरु भएको हो । १६५ वटा निर्वाचन क्षेत्रमध्ये १५८ स्थानको मत परिणाम सार्वजनिक हुँदै गर्दा सरकार निर्माणका लागि दौडधुप सुरु भएको हो ।

प्रधानमन्त्री देउवाबीच भेट भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिनुभएको छ । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेको सुवेदीको भनाइ छ । प्रधानमन्त्री देउवाले सबै परिणाम आइसकेपछि मात्रै सरकार गठनका विषयमा छलफल हुने जवाफ दिनुभएको छ । तर, विज्ञहरूले यसलाई अस्वाभविक रूपमा लिएका छन् ।

राजनीतिकर्मीहरूको अपरिपक्क व्यवहार - परराष्ट्रविद् खनाल
परराष्ट्रविद् प्रेम खनाल निर्वाचन नसकिँदै दुवै पक्षको भेटवार्तालाई अस्वाभाविक मान्छन् । सरकार निर्माण र देशको राजनीतिक स्थिरताका लागि जनताले मत दिएर पठाए पनि राजनीतिकर्मीहरूको व्यवहार अपरिपक्क भएको उहाँको तर्क छ । ‘हाम्रा राजनीतिकर्मीहरूको बोली व्यवहार, भेटघाटमा सामञ्जस्यता देखिँदैन । लामो समय राजनीतिमा व्यतित गरेका पाका नेताहरूले पनि अपरिपक्क व्यवहार देखाएका छन् । नेताहरूको यो व्यवहार नेपालको हितमा छैन । चुनाव भर्खरै सकिएको छ । मत परिणाम सार्वजनिक भइसकेको छैन । नेपालको संविधानले सरकार गठनका लागि यस्ता कार्यलाई चिन्दैन । सार्वभौम संसद्ले सरकार बनाउने सक्षम छ भन्ने कुरा संविधानले उल्लेख गरेको छ । तर, त्यसविपरीत विदेशीसँग अस्वाभाविक भेटघाट गर्ने, सरकार निर्माणका लागि चलखेल गर्ने परिपार्टीलाई स्वाभाविक रूपमा लिन सकिँदैन,’ उहाँले भन्नुभयो ।

त्यस्तै, परराष्ट्रविद् खनालले देशका प्रभुत्व वर्गको व्यवहार अनौठो किसिमको रहेको बताउँदै नेपालको अहिलेको अवस्थामा भाजपा प्रवक्ता आउने समय उपयुक्त समय नरहेको बताउनुभयो । ‘राजनीतिकर्मी भेट्ने विदेशीहरूसँग पनि दया लाग्छ । चुनावको नतिजा आउने कार्य पूरा भएको छैन । भेट्न खोज्न र भेट्न समय दिने पनि उस्तै लाग्छ । हामी कस्तो राजनीति गर्दै छौँ ? यो समय यसरी प्रवक्ता आउने समय होइन’ उहाँले भन्नुभयो । यसैबीच भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउने तयारी गर्नुभएको छ ।

चीनको चाहना- कम्युनिष्ट गठबन्धनको संयुक्त सरकार
त्यसो त उत्तरी सिमानामा फैलिएको कम्युनिष्ट शासन व्यवस्था अँगालेको छिमेकी राष्ट्र चीनले नेपालमा वाम गठबन्धन एक ठाउँमा भएको हेर्न चाहन्छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर खुसी भएको चीन नेपालका कम्युनिष्टहरू विभाजित भएसँगै पुनः एकजुट गराउने प्रयासमा जुटेको छ ।

चीनले सत्तारूढ गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन चासो देखाएको हो । चीनको वाम एकता गराउने प्रयासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यक्ष रूपमा भूमिका खेल्नुभएको स्रोतको दाबी छ । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर नयाँ सरकार गठनका लागि आग्रह गरिसक्नु भएको छ ।
यसअघि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुने अवस्थामा पुगेपछि त्यसलाई रोक्न चीनको दौडधुप भएको थियो । २०७५ सालमा एमाले र माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी नेकपा) मा विलय भएका थिए । तर, दलहरू बीचको आन्तरिक मनमुटावका कारण दल विभाजित भयो । दल विभाजन हुन नदिनका लागि चीनको भरमग्दुर प्रयास असफल भएको थियो । तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले ओली र दाहाललाई पटक-पटक भेटेर दल विभाजन हुन नदिन गरेको प्रयास असफल भएको थियो ।

निर्वाचनमा कुनै दलको बहुमत नआउँदा वाम एकताको पुनः कसरत
गत मंसिर ४ गते निर्वाचन सकिएसँगै कुनै पनि दलले एकलौटी बहुमत ल्याउन नसक्ने अवस्था भएपछि चीनले वाम गठबन्धनमा जोड दिएको हो । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत पाइसक्नुभएका ओलीले प्रचण्डलाई फोन गरेर पुनः एकपटक मिलेर जाने प्रस्ताव राख्नुभएको थियो । ओली प्रचण्डप्रति नरम रूपमा प्रस्तुत हुनुभएको बताइन्छ ।

ओलीले विगतको तीक्तता बिर्सेर नयाँ शिराबाट राजनीतिक कोर्स अघि बढाउनुपर्ने प्रचण्डसामु प्रस्ताव राख्नुभएको थियो । तर, प्रचण्ड भने अझै ओलीसँग सशंकित हुनुहुन्छ । ओलीका अघिल्ला कदमप्रति प्रचण्डको अझै शंका प्रकट भएको हो । तर, निर्वाचनको नतिजा कुर्नका लागि प्रचण्डले संकेत दिनुभएको बताइएको छ । अध्यक्ष ओलीसँग अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सशंकित हुनुहुन्छ । किनकि दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभएका ओलीसँग मिल्न गए पुनः धोका हुने दुवै नेताको बुझाइ छ ।

चीन भ्रमणको तयारीमा पुन
यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन भ्रमणमा जाने तयारी भएको छ । स्रोतका अनुसार उपमहासचिव पुनले चीनमा रहँदा चिनियाँ शीर्ष नेताहरूसँग भेट गर्नुहुनेछ । नेता पुन अर्को साता चीन जाने तयारी गरेको स्रोतले जानकारी दिएको हो । पुननिकट स्रोतका अनुसार उहाँ नियमित स्वास्थ्य चेकजाँचका लागि चीन जाने र उपचारसँगै राजनीतिक भेटघाट हुने बताइएको छ । त्यसो त पहिलेदेखि पनि पुनले कम्युनिष्ट पार्टीहरूलाई मिलाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहनु भएकाले उहाँ पुनः सक्रिय बन्न थालेको स्रोतको दाबी छ ।

देउवा-प्रचण्ड भेट वार्ताको सन्देश के ?
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । भेटमा पाँच दलीय गठबन्धनलाई मुलुकमा बहुमतको नयाँ सरकार बनाउने सहमति भएको थियो । गठबन्धनमा प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली कांग्रेस, प्रचण्ड नेतृत्वको नेकपा माओवादी, माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र चित्र बहादुरको नेतृत्वमा रहेको राष्ट्रिय जनमोर्चा रहेका छन् ।

गत आइतबार प्रतिनिधिसभा र सात प्रदेशसभाको निर्वाचन भएको थियो । सोमबारबाट सुरु भएको मतगणनाको अन्तिम नतिजा नआउँदै दलहरूले बहुमत जुटाउन लबिइङ सुरु गरेका हुन् । त्यसो त नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल भएको र नयाँ सरकार गठनको सम्भावना खोजिएको जानकारी दिनुभयो । ‘दुई नेताबीच अहिलेको सत्तारूढ गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ,’ उहाँले भन्नुभयो । संसद्मा पाँच दलीय गठबन्धनले बहुमतको सरकार बनाउन पर्याप्त शक्ति हुने साहले बताउनुभयो ।

पाँच दलको सत्तारूढ गठबन्धनले प्रत्यक्षमा हालसम्म ८५ सिट जितेको छ । जसमध्ये नेपाली कांग्रेसले ५३, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?