माल्थसको सिद्धान्तलाई सत्य सावित गर्दै वर्तमान विश्व जनसंख्या

केशव आचार्य
Read Time = 14 mins

पछिल्ला दिनमा विश्वको जनसंख्या निरन्तर बढिरहेको छ । बढ्दो जनसंख्या र सीमित भूगोलका कारण उपभोग्य वस्तुको उत्पादनले धान्न सक्ने अवस्था न्यून बन्दै गएको हो । यसले पृथ्वीमा उपलब्ध स्रोतसाधनको तीव्र दोहन गर्ने क्रम बढिरहेको छ, रोकिएको छैन । माल्थसको जनसंख्या सिद्धान्त अनुसार अधिक जनसंख्याको कारण शक्तिाशाली समूहले कमजोर समूहको हडपेर खाने प्रचलन निक्कै अघिदेख सुरु भयो । खासगरी औद्योगिक क्रान्तिपछि पृथ्वीमा उपलब्ध प्राकृतिक साधन र स्रोतमाथि सीमित मानिसको वर्चस्व बढ्यो । प्राकृतिक दोहन बढ्यो र बढिरहेको छ ।

साधन र स्रोत उपभोग गर्ने मानिसको जनसंख्यामा कमी आएको छैन र वर्तमान अभावसँग मानिस जुध्नु परेकाले दीर्घकालीन सोचको अभाव खड्किँदै गएको छ । विश्व जनसंख्याको वृद्धिदर तीव्र बनिरहँदा नोभेम्बर १५,२०२२ सम्म विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । ज्यामितीय अनुपातमा बढेको जनसंख्या र अंकगणितीय अनुपातमा बढ्ने खाद्यान्नबीचको अन्तर फराकिलो बन्दै गएको छ । गत असारमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)ले यसै कात्तिक २९ गते वा नोभेम्बर १५ मा विश्व जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरेको थियो । सोहीअनुरूप सन् २०२२, नोभेम्बर १५ देखि विश्वको जनसंख्या ८ अर्ब पुगेको अनुमान गरिएको छ । जनसंख्यामा आएको तीव्रत्तर वृद्धिले यो विषयमा गम्भीर चिन्तन र अनुसन्धानको आवश्यक्ता खड्किएको देखाउँछ ।

विश्वमा जनसंख्या वृद्धिको गति तत्कालै नियन्त्रणमा ल्याउन नसकिने स्पष्ट देखिन्छ । यसरी दिनानुदिन बढ्दै गएको जनसंख्याका लागि गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने चुनौती राज्यहरूमा बढिरहेको छ । विश्व जनसंख्याको तथ्यांकले एसिया महादेशमा अवस्थित जनसंख्याको हिस्सा निकै ठूलो रहेको देखाएको छ ।

इतिहासतः विश्वको जनसंख्या बढ्ने क्रम पछिल्ला दशकहरूमा तीव्रता देखिएको छ । सन् १९८७ मा विश्वको जनसंख्या पाँच अर्ब पुगेको अनुमान गरिएको थियो । आज पाँच अर्बबाट आठ अर्बमा पुग्न चार दशकभन्दा कम समय लागेको छ । यस तथ्यांकले विश्वमा जनसंख्या वृद्धि उच्च बिन्दुमा रहेको प्रमाणित गर्दछ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको प्रतिवेदनअनुसार सन् २०८० सम्म विश्वको जनसंख्या १०.४ अर्बले बढेर उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म यही स्तरमा रहने प्रक्षेपण गरेको छ । यी तथ्यांकहरू अध्ययन गर्दा विश्वमा जनसंख्या वृद्धिको गति तत्कालै नियन्त्रणमा ल्याउन नसकिने स्पष्ट देखिन्छ । यसरी दिनानु दिन बढ्दै गएको जनसंख्याका लागि गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने चुनौती राज्यहरूमा बढिरहेको छ ।

विश्व जनसंख्याको यो तथ्यांकले एसिया महादेशमा अवस्थित जनसंख्याको हिस्सा निकै ठूलो रहेको देखाएको छ । एसिया महादेशमा मात्र झण्डै चार अर्ब मानिस बसोबास गर्दैछन् । एसिया महादेशको हिस्सा पहिलो छ भने दोस्रो ठूलो हिस्सा अफ्रिका महादेशको रहेको छ । चीन र भारतजस्ता दुई ठूला छिमेकी राष्ट्रको जनसंख्या क्रमशः १ अर्ब ४५ करोड र १ अर्ब ४० करोडभन्दा बढी रहेको छ । अहिले चीन विश्वको सबैभन्दा बढी जनसंख्या रहेको राष्ट्रको रूपमा चिनिएको छ । तर, भारतको वृद्धिदरलाई आकलन गर्ने हो भने अबको थोरै अवधिमै भारतले चीनलाई उछिन्ने निश्चित छ । दुई छिमेकी देशको जनसंख्या वृद्धिदरले नेपालको प्रवृत्तिलाई पनि सहयात्री नै बनाउन सक्ने अवस्था देखाउँछ ।

यसरी विश्वमा निरन्तर वृद्धि भइरहेको जनसंख्या नियन्त्रण गर्ने दुई उयाय माल्थसको जनसंख्या सिद्धान्तले दिएको छ । पहिलो प्राकृतिक उपाय र दोस्रो कृतिम उपाय । प्राकृतिक उपाय, ढिलो विवाह गर्ने, सन्त वा ब्रहृचारी बस्ने र कृतिम उपाय परिवार नियोजनका साधनहरूको प्रयोग गर्ने, क्रियाशील समयमा सम्भोग नगर्ने जस्ता रहेका छन् । आज यी दुवै उपाय मान्न मानिस तत्पर छैन । पछिल्ला दिनमा सन्तान उत्पादनको साधनलाई मनोरञ्जनको साधनको रूपमा हेरिन थालेको छ ।

यस स्थितिलाई समयमै नियन्त्रण गरिएन भने विश्वले भयावह अवस्था व्यहोर्नुपर्ने माल्थसले बताइरहँदा पनि त्यतातिर ध्यान दिइएको छैन । यदि मानिस आफू स्वयंले यसलाई नियन्त्रण नगर्ने हो भने प्रकृतिले नियन्त्रण गर्नेछ । प्रकृतिले विभिन्न प्राकृतिक प्रकोप सृजना गरी यसलाई नियन्त्रण गर्दछ तर प्राकृतिक नियन्त्रण बढी दुःखदायी र कष्टकर हुन्छ । जस्तै, बाढी, पहिरो, डुबान, भूकम्प, रोग व्याधी आदि । विश्वमा पछिल्ला दिनहरूमा यस्ता प्रकोप आइरहेका छन् । जस्तै कोरोना महामारी एक विश्वव्यापी महामारी हो जसले विश्वभरमा लगभग करोड हाराहारीमा मानिस मारेका छन् । तैपनि मानिसमा चेत आएको छैन । व्यक्तिगत स्वार्थका लागि एक अर्कामा लडिरहेका छन्, लडाइरहेका छन् ।

आधुनिक विज्ञान प्रविधि र विशेषगरी औषधि विज्ञानमा भएको अन्वेषण, विकास र विस्तारले मानिसको जीवनमा सकारात्मक प्रभाव परेको छ । स्वास्थ्य सुविधामा वृद्धि, औसत आयु र मातृ शिशु मृत्युदरमा कमीजस्ता कारणले विश्वको जनसंख्या तीव्रत्तर गतिमा बढिरहेकोमा शंका छैन । विशेषगरी तेस्रो विश्वमा जनसंख्या वृद्धिको गतिलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्नसक्ने देखिन्छ । विश्वको कूल जनसंख्याको लगभग दुई तिहाइ हिस्सा प्रजनन् योग्य क्षमताका महिलाले ओगटेका कारण विश्व जनसंख्यामा कमी आउने सम्भावना न्यून छ । बढ्दो जनसंख्याका लागि प्राकृतिक स्रोतसाधनको कम दोहन गरी गाँस, बास र कपासको सुनिश्चित गर्नु अबको मुख्य चुनौती हो ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको प्रतिवेदनको आकडा तथा वृद्धिलाई दृष्टिगत गर्ने हो भने आठ अर्बको जनसंख्या निकै ठूलो आकडा हो । जनसंख्या वृद्धिसँगै हरेक मुलुकले उनीहरूको लालनपालन, भरपोषण, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यक्ताको समेत व्यवस्था गर्नुपर्ने हुन्छ । यसलाई व्यवस्थापन गर्न ठूलो मात्रामा लगानीको आवश्यकता हुन्छ । उत्पादनमा तीव्रता दिनुपर्ने हुन्छ । यी आधारभूत पक्षको अभावमा बढ्दो जनसंख्या भएको राष्ट्र तथा विश्वकै लागि अनुत्पादक बन्न सक्छन् ।

भर्खरै सम्पन्न भएको नेपालको जनगणनाले लगभग तीन करोडको हाराहारीमा जनसंख्या पुगेको देखाएको छ । यस अवस्थामा वृद्धिलाई नियन्त्रण र व्यवस्थित गर्नु विश्वव्यापी चासो र चिन्ताका रूपमा हेरिनु महत्वपूर्ण हुन्छ । विश्व जनसंख्या वृद्धि नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघजस्ता विश्व निकायका अतिरिक्त धनी राष्ट्रहरूको योगदान उल्लेखनीय छ । वर्तमान जनसंख्या वृद्धिदरको आकडा गरिब एसियाली तथा अफ्रिकी राष्ट्रहरूको तुलनामा बढी देखिएका कारण यसलाई नियन्त्रण गर्नेतर्फ जनचेतना तथा जागरुकता जरुरी छ ।

जब जनसंख्या अधिक रूपमा बढ्दै जान्छ यसले अप्राकृतिक तबरबाट अधिक आर्थिक सम्पन्न बन्ने मनस्थितिको सिर्जना गर्दछ । दरिद्र मनस्थितिले आर्थिक कृयाकलापको क्षय गर्दछ । आफ्नो क्षमता, स्तर निश्चित आवश्यक्ताभन्दा माथिको लोभले उत्पादक, बजार र उपभोक्ता सबैलाई हानी पु¥याउँछ । व्यक्ति परिवारदेखि देश देशसम्म वैमनस्य सिर्जना गरी द्वन्द्व निम्त्याउन सक्छ । आवश्यक्ताभन्दा बढी उत्पादन गर्ने चाहनाले अत्यधिक प्राकृतिक दोहन हुनपुग्दछ, उत्पादन शुद्धतामा कमी आउँछ । यसले प्रकृति जीव सबलाई नकरात्मक प्रभाव पार्दछ । प्रकृतिको सदुपयोग गरी समुचित प्रयोग गर्ने काम मानिसको हो । मानिसले प्रकृतिको व्यवहारमा निर्भर रहेर जीविको पार्जन गर्नुपर्ने ठाउँमा आफू स्वयंले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्न उद्यत् हुनु आफ्नै विनाश निम्त्याउनु हो ।

पछिल्ला दिनमा आर्थिक रूपमा सम्पन्न बन्ने स्वार्थगत इच्छाले विश्वमा द्वन्द्व हिंसा सिर्जना गरिरहेको देखिन्छ । अत्यधिक इच्छाकै कारण मानिस अप्राकृतिक बाटो समात्न पुग्दछन् र प्राकृतिक विनाश सुरु हुन्छ । प्राकृतिक विनाशले प्राकृतिक प्रकोप सिर्जना गर्दछ यसले मानवीय क्षति गराउँछ ।

पछिल्ला दिनमा आर्थिक रूपमा सम्पन्न बन्ने स्वार्थगत इच्छाले विश्वमा द्वन्द्व हिंसा सिर्जना गरिरहेको देखिन्छ । अत्यधिक इच्छाकै कारण मानिसहरू अप्राकृतिक बाटो समात्न पुग्दछन् र प्राकृतिक विनाश सुरु हुन्छ । प्राकृतिक विनाशले प्राकृतिक प्रकोप सिर्जना गर्दछ यसले मानवीय क्षति गराउँछ जुन पीडादायक हुन्छ । यस्ता परिस्थितिलाई न्यूनीकरण गर्ने व्यक्तिगत स्वार्थलाई छोड्दै प्राकृतिक संरचनाको संरक्षण गर्नुपर्ने देखिन्छ । प्रकृति, जीव र वनस्पतिबीचको सम्बन्ध बुझ्न जरुरी छ ।

आठ अर्बको जनसंख्यालाई विश्व चुनौती तथा अवसरको सम्भावनाका रूपमा हेरिनुपर्दछ । यसलाई समयमै उचित रेखदेख गरिएन भने यो भारी वृद्धि विश्वकै निम्ति चुनौतीको रूपमा देखापर्न सक्छ । यसका लागि शिक्षा, स्वास्थ्य तथा पोषण सहज रूपमा उपलब्ध गराउन सकिएमा यसलाई दक्ष जनशक्तिका रूपमा विकास गर्न सकिन्छ । सिर्जनशीलता र दक्षतामा मुलुकको समृद्धि लुकेको हुन्छ । यो समृद्धि विश्वका लागि अवसर बन्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?