प्रधानमन्त्रीका लागि कांग्रेसभित्रकाे कलह देखेर अघि सरेनन् प्रचण्ड र माधव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ ।

तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा हुनु हुन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा हुनु हुन्छ । तर, यसपटक उहाँलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उहाँको दाबी छ । तर, उहाँले खुला रूपमा बोल्नुभएको छ ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापा, प्रकाशमान बीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थाल्नुभएको छ । उहाँहरूको रायसुझाव लिइरहनु भएको छ । कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने प्रस्ट पार्नुभएको छ । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताउनु भयो। उहाँले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताउनु भयो ।

कांग्रेस महामन्त्री गगन थापा भने अब कांग्रेसमा अहिलेको पुस्ता प्रधानमन्त्रीका लागि योग्य रहेकाले अबको पाँच वर्षसम्म धैर्य गर्न नसक्ने बताउनु हुन्छ । उहाँले कांग्रेसमा अहिलेकै पुस्ताले प्रधानमन्त्री चलाउनुपर्ने भन्दै त्यसका लागि छलफल सुरु भइसकेको बताउनु भयो । कांग्रेस नेता रामचन्द्र पौडेल भने अहिले पनि आफूले प्रधानमन्त्री बन्ने अवसर नपाए कहिले पाउने भन्दै अभियान नै अगाडि बढाउनु भएको छ । कांग्रेसभित्रको यस्तो कलहले फेरि पनि प्रधानमन्त्रीमा देउवाले नै निरन्तरता पाउने अवस्था देखिएको छ ।

एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन भंग नगरी प्रधानमन्त्री बन्न सक्ने अवस्थामा हुनुहुन्न । तर पनि उहाँले विभिन्न दलका नेताहरूसँग छलफल अघि बढाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?