सुन जस्तै पहेँलै बारीमा तोरी फुलेपछि दंग छन् किसान

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins
A A- A+

सिन्धुली । सिन्धुलीका किसानले बारीमा लगाएको तोरी ढकमक्क फुलेर पहेँलै भएको छ । यहाँको सौन्दर्यले आँखालाई लोभ्याउँछ, मनोरम दृश्यले रोमाञ्चित बनाउँछ । लाग्छ, धर्तीमा सुन फलेको छ । सुन जस्तै पहेँलै तोरी फूलेका छन् ।

मौरी र भँमराको भुनभुन आवाज संगीतमय भएर गुञ्जिएको छ । संगीत र सौन्दर्यताको बयानगरि साध्य छैन । फूलमा फोटो खिच्न, सुगन्धको आनन्द लिन र संगीतमा टिकटक बनाउन आन्तरिक पर्यटकमात्रै होइन, सडकमा सवार यात्रुहरु समेत तोरी बारी धाउने गरेका छन् ।
फोटो खिच्ने, भिडियो बनाउने र नाचेर टिकटक बनाउन नीजी गाडीमा हिड्ने यात्रुहरु पनि आउने र तोरी बारीमाघण्टौँ विताएर फर्किने गरेको तोरीबारी धनी गुणराज काफ्लेले बताउनुभयो । गाउँ र खेतबारीको बिचबाट विस्तार भएको मदनभण्डारी राजमार्गमा यात्रा गर्ने जोकोहीले यहाँको सौन्र्दयता देख्न सक्ने छन् ।

मंगलबार दुधौली नगरपालिका–२ भलुवाहीमा पुष्कर थापा तोरी बारीको फोटो खिच्दै गरेको अवस्थामा भेटिनुभयो । मदनभण्डारी राजमार्गहुँदै सिन्धुलीमाडी बजार हिड्नुभएको उहाँले तोरीबारीको सौन्र्दयताले रोकेको बताउनुभयो ।
फाँटमा तोरी फूलेका र हरियाली देखिएको पहाडलाई फोटो, भिडियोमा कैद गर्न आफूलाई मन पर्ने उहाँले सुनाउनुभयो । ‘यो तोरी फाँटसँग छुट्ने मनै छैन । दुई घण्टा विताइसके, फोटो र भिडियो थुप्रै खिचिसके,’ उहाँले भन्नुभयो ।

दुधौली नगरपालिका–३ चारघरेमा सरला सुनुवार पनि किसिमकिसिमको पोज दिदैँ फोटो खिच्दै गरेको भेटिनुभएको भयो । झुँङ्गा–जगडी–धनसरी सडकमा यात्राको क्रममा बाटैमुनी देखिएको तोरी बारीले आफ्नो ध्यान तानेको बताउनुभयो ।

कमलामाई नगरपालिका–१४ रानिबासमा पनि यसैगरि तोरीले बारी पहेँलै भएको छ । यहाँ पनि आन्तरिक तथा राजमार्गमा सवार यात्रुहरु रम्न, रमाउन पुग्छन् । विशेषगरि युवा र युवतीहरु यहाँ आउने गरेका स्थानीय किसान रामबाबु दनुवारले बताउनुभयो । ‘सार्वजनिक विदाको दिन यो तोरी बारीभरी युवायुवतीको भिडनै लाग्छ, मोबाइन हातमा लिएर समुहनै आउँछन्,’ उहाँले भन्नुभयो ।

यसपटक जिल्लामा करिब पाँच हजार हेक्टरमा तोरी खेती लगाइएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । तोरी तेलहन बालीअन्तर्गत पर्छ । यो बाली जिल्लाको नौ वटै पालिकामा हुने गरेको सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अघिल्लो बर्ष चार हजार ८९७ हेक्टरमा लगाइएको थियो । सोबर्ष चार हजार ४७७ मेट्रिकटन तोरी उत्पादन भएको उहाँले बताउनुभयो । त्यसबर्ष दुधौली नगरपालिकामा सबैभन्दा बढी ९२२ हेक्टर क्षेत्रफलमा लगाइएकोमा ८४३ मेट्रिकटन उत्पादन भएको र सबैभन्दा कम फिक्कल गाउँपालिकामा २०५ हेक्टरमा लगाइएकोमा १८७ मेट्रिकटन तोरी उत्पादन भएको थियो,’ उहाँले भन्नुभयो ।

त्यसैगरी आर्थिक वर्ष आव २०७७/०७८ मा चार हजार ५४४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । सो आवमा चार हजार ५४४ हेक्टरमा तोरी खेती लगाइएको थियो । २०७६/०७७ मा चार हजार ४४४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । सो आवमा चार हजार ८०५ हेक्टरमा तोरी खेती गरिएको उहाँले बताउनुभयो ।
तोरीको तेल बहुउपोगी मानिन्छ । खानका लागि होस् वा मालिस गर्नका लागि सुत्केरी, नवजात शिशु, बुढापाकाको शरीरमा मालिस गर्न तोरीको तेल नै खोजिन्छ । त्यसैगरी कपाललाई बलियो, मुलायम, चम्किलो बनाउन तोरीको तेल लगाउने गरिन्छ ।

तोरी तराई वा पहाड दुवै हावापानीमा लगाउने बाली हो । कम तापक्रम, सफा सुख्खा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ । यसको बोट सानो हुँदा साँग सब्जीको रुपमा खाने गरिन्छ । यसको गुन्द्रुक पनि स्वादिष्ट हुन्छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?