ब्राजिल र पोर्चुगल अन्तिम १६ मा

Read Time = 5 mins

दोहा । ब्राजिल र पोर्चुगलले फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएका छन् । समूह चरणका लगातार दुई खेल जित्दै दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । कतारको लुसाइल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई दुई-शून्य गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश ग¥यो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेस नायक बन्नुभयो । खेलको ५४औँ मिनेटमा बु्रनोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई दुई-शून्यको जित दिलाउनुभयो ।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा हृयाण्डबल गरेपछि भिएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले दुई खेलमा ६ अंक जोडेको छ । पराजित उरुग्वेको एक अंक छ ।

खेलपछि बोल्दै प्रशिक्षक फर्नाण्डो सान्तोसले खुशी व्यक्त गर्नुभयो । ‘हाम्रो टिमले राम्रो प्रदर्शन ग¥यो । लगातार जित निकाल्दै अघि बढेका छौँ । अबको ध्यान अर्को खेलमा हुनेछ । गोल कसले गर्‍यो भन्नेमा मलाई मतलब छैन,’ सान्तोसले भन्नुभयो, ‘ब्रुनो राम्रा खेलाडी हुनुहुन्छ । उहाँले गोल गर्नुभयो र हामीले जित्यौँ । तर, खेलमा सबैको योगदान हुन्छ । गोलरक्षक कोस्टाले दुई उत्कृष्ट बचाउ गर्नुभयो, उहाँको पनि महत्व छ । सबैले एकजुट भएर खेलेको हो ।’

त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा ब्राजिल नकआउट चरणमा पुगेको छ । कतारको स्टेडियममा सोमबार राती भएको खेलमा स्वीट्जरल्याण्डलाई एक-शून्य गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ८३औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल साबित भयो । यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अंक जोडेको छ । समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलले पहिलो खेलमा सर्बियालाई दुई-शून्यले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लिसनले दुई गोल गर्दै ब्राजिललाई जित दिलाउनुभएको थियो ।

यसअघि समूह ‘डी’ बाट फ्रान्सले विश्वकपको नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई चार-एकले हराएको थियो । दोस्रो खेलमा डेनमार्कलाई दुई–एकले हराउँदै फ्रान्स लगातार दुई जितका साथ नकआउट चरणमा प्रवेश गरेको थियो ।

यस समूहमा फ्रान्सले दुई खेलमा ६ अंक जोड्दा अष्ट्रेलियाको दुई खेलमा तीन अंक छ । डेनमार्क र ट्युनिसियाको एक-एक अंक छ । पहिलो खेलमा डेनमार्क र ट्युनिसियाको खेल बराबरीमा सकिएको थियो । त्यस्तै, अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई एक-शून्यले हराउँदै जित निकालेको थियो ।

प्रतियोगिताको समूह चरणबाट हालसम्म कतार र क्यानडा बाहिरिसकेका छन् । दुवै टोलीले सुरुवाती दुई खेलमा हार बेहोरेका हुन् । कतार पहिलो खेलमा इक्वेडरसँग दुई-शून्य र दोस्रोमा सेनेगलसँग तीन-एकले पराजित भएको थियो । क्यानडाले बेल्जियमसँग एक-शून्य र क्रोएसियासँग चार–एकको हार बेहोरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?