चाम्सकृत ‘गोर्खा वारियर’को फष्ट लुक्स पोष्टर सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । भर्सटाईल निर्देशक मिलन चाम्सद्वारा निर्मित एवं निर्देशित चलचित्र गोर्खा वारियर’को फष्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । आगामी सन् २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फष्ट लुक्स मंगलबार सार्वजनिक गरिएको हो । यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतिबेला फष्ट लुक्सको रूपमा तीनवटा पोष्टर सार्वजनिक गरिएको हो ।

सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्वीरमार्फत फष्ट लुक्समा समेटिएको छ । एउटा पोष्टरमा चलचित्रमा ब्रिटिश गोर्खा सैनिकको रूपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् ।

यस्तै, अर्को पोष्टरमा रितेशसहित गोर्खा सैनिक मेजरको भूमिका रहनुभएका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिश गोर्खा सैनिककै भेषमा प्रस्तुत हुनुभएको छ । सार्वजनिक तेस्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उहाँको १२ जना ब्रिटिश गोर्खा सैनिकहरूको टिम युद्धमा जानका लागि तयारी मुद्रामा बसेको देखिन्छ । यी सबै पोष्टरहरू खैरो रंगमा तयार गरिएको छ । युद्धसम्बन्धी ऐतिहासिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले जानकारी गराउनुभयो ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गर्नुभएको छ । रितेशसँगै गोर्खा वारियरमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको मुख्य भूमिकामा हुनुहुन्छ ।

यसअघि दर्जन सफल चलचित्र निर्देशन गर्नुभएका चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको संघर्ष र उनीहरूको शाहसिक कथालाई गोर्खा वारियरमार्फत विश्वका सिनेमा हलमा पुर्‍याउँदै हुनुहुन्छ । चलचित्र नेपालसहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताउनुभयो ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई हुनुहुन्छ भने कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रूपमा सुरेश राई रहनुभएको छ ।

चलचित्रलाई नेपाल र मलेशियामा छायांकन गरिएकोे हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?