उद्योग संगठन र इन्स्योर परियोजनाबीच सम्झौता

Read Time = 2 mins

मोरङ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी तीन वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार केन्द्रले आगामी दिनमा उद्योगलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकताअनुरूप तालिम सञ्चालनका लागि प्रदायक संस्थाबीच पुलको भूमिका निर्वाहका साथै समयानुकूल पाठ्यक्रम परिमार्जनमा नीतिगत सुझाव सम्बन्धित निकायमा दिनेछ ।

त्यसैगरी निजी क्षेत्र, तालिम प्रदायक संस्था एवं सरकारका सरोकारवाला निकायबीच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।

दुवै संस्थाको सहकार्यमा गत वर्षदेखि सञ्चालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसँग समन्वय गरी अप्रेन्टिसीप मोडलमा ३३ जना प्रशिक्षार्थीलाई रोजगारको व्यवस्था गरेको छ ।

संगठन र परियोजनाको समन्वयमा पिएलसी, बोइलर अपरेटर, लेथ अपरेटरलगायतका विषयमा एक सय घण्टाको तालिम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरू सञ्चालन गर्ने तयारी रहेको उद्योग संगठन मोरङले जनाएको छ । सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?