न्याय माग्न पुग्नुभएकी बिनु सर्वाेच्चको गेटबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न सर्वाेच्च अदालत पुग्नुभएकी बिनु यादवलाई अदालतकै गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान्बाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उहाँ सर्वाेच्च अदालत पुग्नुभएको थियो । तर, ट्याक्सीबाट ओलिर्नेबित्तिकै सुरक्षाकर्मीको घेरामा पर्नुभएकी उहाँले आफूले बोकेर गएको रातो रंग सर्वाेच्च अदालतको गेटमा फ्याक्नुभयो । घोलिइरहेको रातो रंग गेटमा पोख्नुभएकी उहाँलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याक्नुभएकी उहाँले भन्नुभयो, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’ उहाँले भनेजस्तै ३१औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।

उहाँको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उहाँ सडक संघर्षमा उत्रिन थाल्नुभएको हो । केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गर्नुभएकी उहाँले आफूमाथि श्रीमानसहित घरपरिवारबाट शारीरिक र मानसिक रूपमा हिंसा भएको बताउँदै आउनुभएको छ । काका ससुरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उहाँको आरोप छ । बिनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?