चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो : ओली

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाउनुभएको छ । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उहाँले यस्तो बताउनुभएको हो । एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उहाँको आरोप थियो । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको उहाँले जिकिर गर्नुभयो । उहाँले बाजुरा दोलखा लगायतका जिल्लामा धाँधली भएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धनले चरम अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति देखाएको भन्दै लोकतन्त्रमा यस्तो नहुने बताउनुभयो । साथै, उहाँले सरकारले लोकतन्त्रका नाममा नांगो नाच देखाएको आरोप पनि लगाउनुभयो । ओलीले घरमा गएर कुटीकुटी मान्छे मार्दा सरकारले सुरक्षा दिन सक्दैन ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जस्तो नभएको जिकिरसमेत गर्नुभयो । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उहाँको आरोप थियो ।
बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारीहरूले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत दिनुभयो । ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटक-पटक दोहोर्‍याउनुभयो ।

अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?
एमाले अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएर आएको टिप्पणी गर्नुभएको छ । उहाँले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम र चुनाव चिन्ह अमेरिकी पार्टीसँग मिल्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ’छ एउटा फ्रिडम पार्टी ।’
रास्वपाको चुनाव चिन्ह घण्टीबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘संयोग नै होला तर अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । हावा कसैले नहाली कसरी हुप्प भयो यत्रो । केही त होला, त्यतातिर नलागौँ ।’

फुसका छाप्रा भत्काउन डोजर
यस्तै, अध्यक्ष ओलीले थापाथलीका सुकुम्बासीमाथि बल प्रयोग गर्नु उचित नभएको टिप्पणी गर्नुभयो । उहाँले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे प्रश्न उठाउनुभयो । यस्तै, उहाँले सरकारले सुकुम्बासीलाई शत्रु घोषणा गरेको टिप्पणी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्ने तयारी गरिरहेकोमा हट्नु परेकोले यो समस्याको निदान हुन नसकेको पनि जिकिर गर्नुभयो । ‘सुकुम्बासी हाम्रा दाजुभाइ–दिदीबहिनी हुन् । अलि गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नुपर्ने, मार्नुपर्ने भन्ने हैन । पराजित गर्नुपर्ने हैन । समस्याको समाधान गर्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकार फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने । त्यो आयोग कहाँ गयो ?’

ओलीले समस्या समाधान गर्न डोजर प्रयोग गर्ने हो भने आयोगको औचित्य नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकातिर समस्या समाधान गर्न आयोग छ । अर्कोतिर डोजर लगेर पेलेको छ । डोजर लगेर भत्काउने हो भने आयोग किन चाहियो ?’ उहाँले फुसका छाप्रा भत्काउन डोजर लिएर गएकोप्रति आफूलाई अचम्म लागेको टिप्पणी गर्नुभयोे । ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कारअनुसार अघि बढ्न पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृतिसमेत संसारकै उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?