स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू गर्न माग गर्दै कांग्रेस नेताहरूले बुझाए आयोगमा ज्ञापन पत्र

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा-२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिनुभयो । स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उहाँको भनाइ थियो ।

पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताउनुभयो । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उहाँको भनाइ छ । उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

स्याङ्जामा कांग्रेसले बुथ कब्जा गरेको एमालेको आरोप छ । विवादका कारण मतगणना हुन सकेको छैन । बाजुरामा पनि कांग्रेस र एमालेले एकअर्कालाई १७ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् त्यसका कारण त्यहाँ पनि मतगणना सुरू हुन सकेको छैन ।

गच्छदारको अपराजित यात्रा रोक्दै एमालेबाट चौधरी निर्वाचित
नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रालाई रोक्दै सुनसरी-३ बाट एमालेकी भगवती चौधरीले ऐतिहासिक जित निकाल्न सफल हुनुभएको छ । पाँच पटकसम्म उपप्रधानमन्त्री भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरीले तेस्रो प्रयासमा जित निकाल्न सफल हुनुभएको हो । उहाँको पहिलो संसदीय निर्वाचनको जितसँगै सुनसरीबाट प्रत्यक्ष प्रतिनिधिसभा जित्ने एक्ली थारु महिला बन्नुभएको छ । दोस्रो संविधानसभा ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदारविरुद्ध लडेकी उनले यसपटक भने नतिजा आफ्नो पक्षमा पार्न सफल हुुनुभयो ।

गच्छदार सुनसरी ३ बाट ०४८, ०५१ र ०५६ मा नेपाली कांग्रेसबाट विजय हुनुभएको थियो । राजनीति यात्रामा तीन दशकदेखि जित्दै आउनुभएका गच्छदार यस पटक पनि विजयको खोजीमा सुनसरी आउनुभएको थियो । तर भगवतीले यसपटक गच्छदारलाई सहज रुपमा पराजित गर्नुभयो । भगवतीलाई ०७० मा ३६४ र ०७४ को चुनावमा ३२१ को झिनो मतान्तरले कठिन जित निकाल्न सफल गच्छदारको संसदीय यात्रामा यसपटक भने विराम लागेको हो ।

जनमत पार्टीले पनि कटायो तीन प्रतिशतको थ्रेसहोल्ड
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न थालेको छ । सोमबार मध्यरातिसम्म एक लाखभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्म पहिलो स्थानमा नेकपा (एमाले) छ । एमालेले २७ लाख मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५० मत पाएको छ । प्राप्त पछिल्लो मतपरिणाममा माओवादी केन्द्र केही हजार मतले घन्टी चिन्ह भएको रास्वपाभन्दा अघि लागेको छ ।

माओवादी केन्द्रले ११ लाख ४३ हजार मत पाएको छ । रास्वपाले १० लाख ९८ हजार मत पाएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ६९ हजार, छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख ८८ हजार मत पाएको छ । सातौं स्थानमा रहेका जनमत पार्टीले तीन लाख ४६ हजार प्राप्त गरेको छ । योसँगै जनमत पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएको छ । आठौँ स्थानको नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ८१ हजार मत प्राप्त गरी तीन प्रतिशतको थ्रेस होल्ड कटाउने संघर्षमा छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?