हिटा विशेष टिप्पणी : नयाँ संसद्को पुरानै प्रधानमन्त्री

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 13 mins
A A- A+

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत सम्पन्न दोस्रो निर्वाचन परिणामले नयाँ संसद् पुरानै प्रधानमन्त्री निश्चित गरेको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले इच्छा नगरेको अवस्था, संसदीय दलमा पराजित भएको अवस्था वा संयुक्त चुनावी गठबन्धन यत्रतत्र भएको अवस्थाबाहेक अन्य कुनै पनि कारणले देउवालाई छैटौँपटक प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्ने अवस्था छैन ।

(क) पुनः प्रधानमन्त्रीमा देउवा ?
सार्वभौम जनतालाई अंशबण्डा गर्ने अधिकार कुनै पनि दल र नेतृत्वलाई थिएन । तर, अन्तिम सत्य सत्ता भन्ने चिन्तन प्रबल भएको हुनाले नेपाली जनताले आफू सार्वभौम रहेको सत्यलाई समेत अस्वीकार गरे वा भुले । आफूलाई परिवर्तनकारी क्रान्तिकारी अनेक उपमाद्वारा आभूषित गर्नेहरूको प्रवृत्ति पुरनाको जस्तै पुष्टि भएको छ । तथाकथित् नयाँ पुस्ताका नयाँ अनुहारहरूले समेत सत्ताको अंशबण्डालाई नै अन्तिम सत्य मानेका हुनाले सिद्धान्तविहीन राजनीतिका मतियार सिद्ध हुन पुगेका छन् । यसैकारण अब पुस्तान्तरण र पुस्ताहस्तान्तरण भन्ने सुगारटाईको कुनै औचित्य रहेन । खासगरी नेपाली कांग्रेसभित्र नयाँ पुस्तामा नेतृत्व सर्नुपर्छ भनी माग गर्नेहरू गएको महाधिवेशनदेखि नै पूर्ण असफल भएका हुन् । देउवाका सामुन्ने कोइराला परिवारको विरासत मै हुँ भनेर ०७२ को महाधिवेशनमा दाबी गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टीमा एकता बनाइराख्न देउवासँग नै समझदारी राखेको देखिन्छ ।

नेपाली कांग्रेसका अनेक हस्तीहरूले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सम्पन्न सिद्धान्तविहीन चुनावी गठबन्धनको परिणाम आइसकेको अवस्था छ । परिणामपश्चात् अब सत्ताको जोड घटाउ प्रारम्भ हुनु स्वाभाविक हो । दाबी गर्नेहरू जति धेरै भए पनि अन्ततः देउवाको पक्ष बलियो छ । जुनकोणबाट हेरे पनि पाँच दलीय गठबन्धनले पाएको संसदीय संख्याका आधारमा अबको प्रधानमन्त्रीमा पुनः शेरबहादुर नै हुने निश्चित जस्तो छ ।

(ख) किन र कसरी देउवा ?
(१) डेढ वर्ष पहिले देउवाले प्रधानमन्त्री पद अस्वीकार गर्नुभएको भए दोस्रोपटक विघटित संसद्को पुनर्जीवन हुने वा नहुने निश्चित थिएन । माओवादी पार्टी, एमालेका अध्यक्ष केपी ओलीसँग असहमत पक्ष, जसपा र जनमोर्चाको खास आग्रहमा देउवा सरकारको नेतृत्व लिन तयार भएको सबैलाई थाहा छ । संवैधानिक संकट हुनसक्ने अवस्थामा देउवाले सबैको आग्रहको सम्मान गर्दै संसद्को आयु पूर्णकालीन बनाउनुभएको हो । उहाँको तानतुन गर्ने कलाले गठबन्धन टिकेको छ र निर्वाचन निश्चित समयमा सम्पन्न भएको छ । केही अपवादलाई छाडेर निर्वाचन शान्तिपूर्ण हुन सक्यो ।

(२) नेपाली कांग्रेसमा देउवाविरोधी भनेर चिनाउनुहुने र प्रतिस्पर्धासमेत गर्नुभएका डा. शेखर कोइरालाले पार्टीमा कुनै विवाद नरहेको र देउवासँग आफ्नो कुनै मतभेद नरहेको कुरा चुनाव पहिले सार्वजनिक गर्नुभएको सबैलाई थाहा छ । डा.शेखरको पक्षमा रहेका अरू नेताहरूले उहाँको यो भनाइको मर्मबोध गरेको हुनुपर्छ ।

(३) निर्वाचनका समयमा आफ्नो पक्षको सिट संख्या कम भएको भन्दै विद्रोह गर्न धम्की दिने नयाँ पुराना सबैको मुख टाल्न देउवा सफल भएको हुनाले नै प्रतिनिधिसभाको ८९ उम्मेदवारमध्ये विजयी देउवा पक्षको अत्यधिक संख्या छ । समानुपातिकमा आउनसक्ने करिब ३३/३४ मध्ये २० जना जति देउवाकै पक्षका छन् । नेपाली कांग्रेसको संसदीय दलमा देउवाविरुद्ध अरू कुनै पनि आकांक्षीको बहुमत पुग्ने अवस्था छैन ।

(४) देउवाबाहेक शीर्ष नेतृत्वमा रहनुभएका रामचन्द्र पौडेल प्रधानमन्त्री पदको स्वाभाविक आकांक्षी हुनुहुन्छ । तर, देउवाले उम्मेदवारी नदिने अवस्थामा मात्र । देउवा आफू उम्मेदवार नहुने भएमा रामचन्द्रका पक्षमा नै उहाँको समर्थन हुने अनुमान गर्न सकिन्छ । देउवाको समर्थनबिना नेपाली कांग्रेसमा संसदीय दलको प्रमुख अरू कोही पनि हुँदैन अहिले । तथाकथित नयाँ पुस्ताकाहरूले प्रधानमन्त्री हुने दाबीका साथ जनतासँग मत लिएको भए पनि परिणामले पुष्टि गरेको छैन । प्रवृत्ति पुरानोभन्दा झन् पुरानो तर उमेरका कारण नयाँ भन्नु हास्यास्पद हुन्छ ।

(५) गठबन्धनका शीर्ष नेताहरूको बैठक र सम्वाद सुरु भएको छ । गठबन्धनमा रहेका प्रमुख दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका नेताहरूले तत्काल अर्को समीकरणको बाटो खोज्ने सम्भावना पटक्कै छैन । खासगरी अर्को समीकरणका दुई धार रहन सक्छन् । पहिलो ः नेकपा एमालेको नेतृत्व, दोस्रो नेपाली कांग्रेसभित्र नै विद्रोह वा विभाजन हो । तेस्रो देउवा नेतृत्वविरुद्ध माओवादी र समाजवादीभित्र नै विभाजन आउने अवस्थामा बाध्य भएर अर्को विकल्प रोज्नुपर्ने हुन्छ ।

(६) देउवाविरुद्ध संसदीय दलमा उमेदवारीको दाबी प्रतिकात्मक हुनेछ । आफूलाई अर्को समयको नेतृत्वको सिँढीमा पुर्‍याउने अवसरको खोजीसिवाय प्रतिस्पर्धाको खास अर्थ लाग्दैन । देउवा संसदीय दलको नेता हुनासाथ गठबन्धनका सहयोगी र आवश्यक अरू स्वतन्त्र मतहरू समेत उहाँका पक्षमा हुनेछन् ।

(७) देउवाको नेतृत्वमा माओवादी र समाजवादीको समेत सहकार्यले उत्तर दक्षिण पूर्व-पश्चिमको सन्तुलन हुनसक्छ । देउवाको सहज स्वभाव र समन्वयकारी भूमिकालाई अन्तर्राष्ट्रिय समुदायले समेत अनुभव गरेको देखिन्छ ।

(ग) नेकपा एमाले विकल्प दिन सक्दैन ?
यति धेरै शक्तिशाली दलहरू आफ्ना विपक्षमा रहेको र सरकारमा नै बसेर चुनावी गठबन्धन गरेको अवस्थामा समेत एमालेको स्थान आउनु महत्वपूर्ण उपलब्धि हो । समानुपातिकमा त पहिलो नै भएको छ । यसको कारण अरू धेरै होलान् तर मलाई लागेको छ : एमालेका जति कार्यकर्ता र मतदाता थिए ती सबै अत्यन्त आत्मविश्वासका साथ मत अभियानमा लागे, निष्ठाका साथ उभिए । असन्तुष्टहरू पहिले नै किनारा लागेको अवस्था थियो । तर, सरकारी गठबन्धनमा सन्देह, अविश्वास, तीव्र घृणा, प्रतिशोध अनेक अवस्था भएको हुनाले सोचे जस्तो परिणाम हुनसकेन । यसर्थ नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकार निर्माणमा गठबन्धनको कसरत त्यसवेला मात्र गर्नेछ जब राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र तत्काल विगतमा एमालेबाट फुटेको माधव नेपाल समूह ओली नेतृत्वमा सहभागी हुन सहमत हुनेछ । त्यो भिन्न परिस्थितिमा एमालेको दाबी पुग्नेछ । विरोधका लागि विरोध एमालेबाट हुने देखिँदैन । समानुपातिकमा केही बढी मत आए पनि प्रत्यक्षमा एमालेको संख्या नेपाली कांग्रेसको भन्दा कम छ । हो, नेपाली कांग्रेसभित्र महत्वाकांक्षीहरूले प्रधानमन्त्री पदको सपनामा कांग्रेसमा व्यापक अन्तरविरोध विकास गरी विभाजन सम्मको बाटो खोले वा खोल्ने देखियो भने राजनीतिका चतुर खेलाडी केपी ओलीले यस्तो स्वर्ण अवसर गुम्न दिनुहुन्न भन्ने सबैलाई थाहा छ । कांग्रेसभित्र उत्पन्न तथाकथित पुस्ता संघर्षको विवादमा भित्तो चर्किन लाग्यो भने केही फराक पार्ने कला उहाँमा छ । निर्वाचनमा संयुक्त गठबन्धनका सहयात्रीमा समेत सन्देह पैदा गर्ने क्षमता उहाँमा छ । यदि ओलीले संयुक्त गठबन्धनविरुद्ध अर्को सहमति गर्ने प्रयास गर्नुभएमा राप्रपा, रास्वपा, जसपा, अन्य केही स्वतन्त्र र गठबन्धनको असन्तुष्ट पक्षलाई सजिलै समेट्न सक्नुहुने छ । त्यस अवस्थामा देउवा वा संयुक्त गठबन्धनको प्रयास असफल हुनेछ ।

(घ) अब के हुनुपर्ला ?
प्रधानमन्त्री नेपाली कांग्रेसमा रहने भए सन्तुलनका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहित उपप्रधानमन्त्री र मन्त्रालयहरूको बाँडफाँट मिलाउनुपर्ने हुन्छ । पार्टी बाहिरबाट राष्ट्रपति चयन गर्ने भए कुनै प्राज्ञिक स्वतन्त्र र स्वतन्त्रताप्रति प्रतिबद्ध व्यक्तित्वमा सहमति होला । तर, पार्टीबाट नै सहमति गर्ने हो भने संयुक्त गठबन्धनमा यतिखेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वाभाविक दाबेदार देखिनुहुन्छ । यद्यपि, उहाँको प्रयास प्रधानमन्त्री हुनेमा छ । महिला पुरुष समुदायको समेत सन्तुलन हुनुपर्ने यी पदहरूमा पार्टीहरूले सहमति खोजेमा असम्भव हुँदैन । जसको नेतृत्वमा रहे पनि गठबन्धन सरकार अनिवार्य हो । यो अनिवार्य बाध्यतालाई स्वीकार गर्दै आगामी पाँच वर्षसम्म संसद्लाई सक्रिय राख्ने र सरकारलाई स्थायी गतिशील बनाउने सोच नेतृत्वमा हुनु जरुरी छ । निर्वाचन परिणामको सन्देश पनि यही नै हो । अनावश्यक महत्वाकांक्षा, उत्तेजना र आवेशले विद्यमान समस्याको हल निस्कँदैन र राजनीतिक प्रणालीले समेत स्थायित्व पाउँदैन ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?