कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, कसको छ अधिक संभावना ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको थियो । तर, यसपटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो ।

हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन । हालसम्म कांग्रेसले प्रदेशमा एक सय पाँच सिट जितेको छ । जुन अघिल्लो निर्वाचनभन्दा दोब्बरले बढी हो । प्रतिनिधिसभातर्फ कांग्रेसले अहिलेसम्म ५४ स्थानमा जितेको छ । एकमा अग्रता लिइरहेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना आजबाट सुुरु हुने भएको छ । जसमा कांग्रेसका दुई उम्मेदवार छन् । यदि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारले जिते भने कांग्रेसको ५६–५७ सिट पुग्छ ।

समानुपातिकतर्फ कांग्रेसले २६ लाख कटाउने देखिएको छ । समानुपातिकतर्फ कांग्रेसले कम्तीमा ३२ सांसद पाउने देखिएको छ । त्यसो भएमा कांग्रेसको ८७–८८ सांसद पुग्नेछ । कांग्रेसले ८८ सिट ल्यायो र एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्तागठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर कांग्रेसमा यसपटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।

प्रधानमन्त्रीका लागि आधा दर्जन आकांक्षी भएपछि नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत देखिएको छ । बाहिर कतै नबोलेको भएपनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषीले भने झैँ ७ पटक देशको प्रधानमन्त्रीमा नाम लेखाउन चाहानुहुन्छ । यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेल देश र पार्टीमा आफ्नो ठूलो लगानी भएको बताउँदै एक पटक प्रधानमन्त्री भइछाड्ने मनसायमा हुनुहुन्छ ।

यसैगरि नेता प्रकाशमान सिंह देशको नेतृत्व गर्न पाए आफू जनताको चाहना बमोजिम देश विकास गर्ने बताउँदै नेताका घरघर धाउन थाल्नु भएको छ । यता नेता शशांक कोइराला पनि युवापुस्तामा भन्दा पनि कांग्रेसबाट आफू नै देशको प्रधाानमन्त्री हुन योग्य भएको बताउँदै आउनु भएको छ ।

कांग्रेस भित्र एउटा खेमा जवर्जस्त युवा नेता गगनकुमार थापालाई एक पटक देशको बागडोर सम्हाल्न दिनुपर्ने पक्षमा छ । थापाले पनि आफू प्रधानमन्त्रीको दाबेदार भन्दै गएको मंसिर ४ को निर्वाचनमा मतदातासँग भोट माग्नुभएको थियाे ।

यदि नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले ८८ सिट पाएमा संसदीय दलको नेता बन्न ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।

कांग्रेस महामन्त्री थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसक्नुभएको छ । यसले गर्दा प्रदीप पौडेललगायत देउवा समूहका रहनुभएका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना धेरै छ ।

कांग्रेस महामन्त्री थापाले शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसक्नुभएको छ । अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यसपटक कांग्रेस संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?