मतभेदका कारण अमेरिकासँगको वार्तामा विलम्ब : रूस

Read Time = 2 mins

मस्को । युक्रेनबारेको विवादका कारण रूसले आणविक हतियार नियन्त्रण गर्ने विषयमा अमेरिकासँग हुने कैयौँ बैठक स्थगित गरेको वरिष्ठ रूसी कूटनीतिज्ञले जानकारी दिएका छन् । रूसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले मंगलबार कायरोमा शुरु हुने भनिएको पूर्वनिर्धारित वार्ता स्थगित गर्ने निर्णय राजनीतिक तहमा गरिएको जानकारी दिनुभयो ।

उक्त वार्ता स्थगित हुनु अमेरिका र रूसबीच तनावपूर्ण सम्बन्ध रहेको अर्को उदाहरण हो । यसले दुई देशबीच बाँकी रहेका आणविक हतियार नियन्त्रण सन्धिको भविष्यबारे चिन्ता बढाएको छ । र्‍याबकोभले मस्कोमा पत्रकारहरूसँग भन्नुभयोे, ‘अमेरिकी मित्रहरू हाम्रा संकेतहरू सुन्न र हाम्रा प्राथमिकता बारे छलफल गर्न अनिच्छुक देखिएका छन् । उनीहरू त अझै हाम्रो चाहनाविपरीत काम गरिरहेका छन् । हामीले यस्तो कठिन अवस्था सामना गरिरहेका छौँ ।’ अमेरिकाले ‘नयाँ स्टार्ट सन्धि’अन्तर्गत निगरानी पुनः सुरु गर्न चाहेको र रणनीतिक हतियार घटाउने सम्झौताअन्तर्गत हतियारहरूको गणनाको बारेमा विशेष छलफल गर्न रूसको अनुरोधलाई स्थगित गरेको र्‍याबकोभले दाबी गर्नुभयो ।

अमेरिकी विदेश मन्त्रालयले सोमबार रूसले इजिप्टको राजधानी कायरोमा हुने वार्तालाई एकपक्षीय रूपमा स्थगित गर्ने निर्णय गरेको बताएको थियो । साथै रूसले वार्ताको नयाँ मिति प्रस्ताव गर्ने अपेक्षा गरेको अमेरिकाले उल्लेख गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?