चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनका पूर्वराष्ट्रपति तथा कम्युनिष्ट पार्टीका प्रमुख जियाङ जेमिनको ९६ वर्ष उमेरमा निधन भएको छ । उहाँको बुधबार सांघाईमा निधन भएको हो । गत अक्टोबरमा उहाँ पार्टीको २०औं कांग्रेसमा अनुपस्थित रहेको र तथा पार्टीको सयौं वार्षिकोत्सवमा सहभागी नभएको विषयलाई उहाँको खस्किँदै गएको स्वास्थ्यसँग जोडेर हेरिएको थियो । उहाँले १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नु भएको थियो ।

सन् १९४६ मा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को पार्टी सदस्यता लिनुभएका उहाँले सांघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्नुभएको थियो । केही समय चीनका उद्योगहरूमा काम गर्नुभएका उहाँले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिकसम्बन्धी थप तालिम लिनुभएको थियो ।

इलेक्ट्रिक अनुसन्धातासमेत रहनुभएका उहाँ सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बन्नुभएको थियो । त्यसको दुई वर्षपछि उपमन्त्री बन्नुभएका उहाँ उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बन्नुभएको थियो ।

त्यहीबीचमा उहाँ सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बन्नुभयो भने १९८५ मा सांघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्युरो सदस्य बन्नुभएको थियो । पार्टीको नेतृत्वमा पुगिसकेपछि उहाँले सन् १९९३ मा चीनको शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोगबाट देङ स्यावो पिङ हटेपछि त्यसको पनि अध्यक्ष बन्नुभएको थियो । सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उहाँ चीनका सर्वोच्च नेता बन्नुभएको थियो ।

उहाँले चीनलाई विश्व बजारसँग जोडनुभएको थियो । जियाङले चीनलाई विश्वव्यापी मञ्चमा एक शक्तिशाली मुलुकको दर्जामा उभ्याउन नेतृत्व गरेको जस दिने गरिन्छ । जेमिनले सन् १९९७ मा हङकङको शान्तिपूर्ण स्थानान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशका लागि मेहनत गर्नुभएको थियो । उहाँलाई चीनमा मात्रै होइन विश्वभर सधैं मिहिनेती नेताको रूपमा हेर्ने गरिन्छ । जेमिनको नेतृत्वमा चीनको अर्थतन्त्र बलियो हुनुका साथै सधैं सत्तामा बसिरहन कम्युनिष्टहरूलाई सहज बनाउनुभएको श्रेय दिइने गरेको छ । उहाँ सन् १९९६ मा नेपालको औपचारिक भ्रमणमा समेत आउनुभएको थियो । उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?