सत्ता गठबन्धनमा संवैधानिक पदको लागि नेकपा एकीकृत समाजवादीको बार्गेनिङ

राष्ट्रपतिमा झलनाथ खनालको चर्चा

फाईल तस्बिर

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । यद्यपि, दोलखा, स्याङ्जा २ र बाजुरामा मतगणना हुन सकेको छैन । निर्वाचन आयोगले स्थगित भएका दोलखाका केही मतदान केन्द्रमा १५ गते पुनः चुनाव गराउने निर्णय गरेसँगै आज चुनाव हुँदै छ । राजनीतिक दलको विवादका कारण मतगणना रोकिएका स्याङ्जा र बाजुरामा तत्काल मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । अन्तिम मत परिणाम नआउँदै राजनीतिक दलहरू सरकार गठन र पावर सेयरिङको लागि छलफल गरिरहेका छन् ।

वर्तमान सत्तारूढ पाँच दलीय गठबन्धन आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छ । सरकार गठनको गृहकार्य चलिरहेका बेला गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले राष्ट्रपति वा सभामुखमध्ये एक संवैधानिक पदमा दाबी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ नेकपा एसले १० सिट जितेको छ । समानुपातिकतर्फ भने थ्रेसहोल्ड कटाउन प्रयास गरिरहेको छ । नेकपा एसले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गरेको छ । चुनावको समीक्षा गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नुपर्ने निष्कर्ष निकालेको हो । सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘हामीले सोचेजस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

बुधबार साँझसम्मको मत परिणामअनुसार सम्पूर्ण मतगणना गरिसक्दा नेकपा एसले थ्रेसहोल्ड कटाउन सक्ने अवस्था देखिएको छ । नेकपा एसले थ्रेसहोल्ड मात्रै कटाए पनि वर्तमान गठबन्धनलाई सरकार गठनको लागि बहुमत पु¥याउन समस्या पर्ने देखिन्न । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर नेकपा एसको १४ सिट पुगे सत्ता गठबन्धनको बहुमतका लागि स्वतन्त्र र साना दलको समर्थन आवश्यक नपर्ने र वर्तमान सत्ता गठबन्धनलाई अघि लैजान सहज हुने गठबन्धनका नेताहरूको भनाइ छ । वर्तमान सत्ता गठबन्धन नै अघि बढाउने प्रयास भइरहँदा बहुमतको लागि नेकपा एसको महत्व थप बढ्ने निश्चित छ । यस कारण पनि महत्वपूर्ण संवैधानिक पदमा नेकपा एसले बार्गेनिङ गर्ने देखिन्छ । हुन त गठबन्धनका दलहरूबीच मुख्य पदहरूको प्याकेजमै भागबण्डा गर्ने प्रयास भइरहेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख जस्ता पद दलहरूले शक्ति र सामथ्र्यका आधारमा बाँड्ने तयारी छ । प्रदेशका मुख्यमन्त्री पनि प्याकेजमै छलफल हुने गठबन्धनका नेताहरूको भनाइ छ । प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी दुवैको दाबी रहने अवस्थामा राष्ट्रपति वा सभामुखमध्ये एक पदमा नेकपा एसको अधिकार रहने मंगलबार बसेको उक्त पार्टीको सचिवालय बैठकमा पनि छलफल भएको छ । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित हुनुभएका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति पदका लागि इच्छा देखाउनुभएको छ । खनालले राष्ट्रपति बन्ने आफ्नो इच्छा गठबन्धनका शीर्ष नेताहरूसमक्ष व्यक्त गरिसक्नु भएको छ । खनालले इलामबाट पराजित भएर फर्किएपछि आफ्नो दाबी राष्ट्रपतिमा रहने सार्वजनिक गरिसक्नु भएको छ । तत्कालीन नेकपा एमालेमा रहेकै बेला विद्या भण्डारीलाई दोस्रोपटक राष्ट्रपति बनाउने निर्णयमा खनालले विमति जनाउनुभएको थियो । तत्कालीन एमालेको औपचारिक बैठकमै खनालले राष्ट्रपतिको लागि दाबी प्रस्तुत गर्नुभएको थियो । तर, नेकपा एस र नेता खनालले दाबी गरे पनि राष्ट्रपति बन्न सहज छैन । खनाल नेपाली कांग्रेसले विगतदेखि नै रुचाइएका नेताको कोटीमा पर्नुहुन्न । यस्तै, अन्तर्राष्ट्रिय समुदाय पनि खनालप्रति विगतदेखि नै सकारात्मक छैन । चुनाव हारेपछि खनालले दिएको अभिव्यक्तिको कारण कांग्रेस वृत्तमा खनालप्रति थप नकारात्मक धारणा बनेको छ । झलनाथ खनाल राष्ट्रपति बन्ने अवस्था नभए नेकपा एसले सभामुख पदमा दाबी गर्ने नेताहरूको भनाइ छ ।

नेकपा एसले सभामुख पाउने अवस्थामा धादिङ १ बाट निर्वाचित राजेन्द्र पाण्डे उम्मेदवार बन्ने लगभग निश्चित छ । संसदीय राजनीतिका अनुभवी नेता पाण्डे २०४८ देखि २०७९ सम्म पाँचपटक सांसद भइसक्नु भएको छ । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य हुँदै पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बनिसक्नु भएको छ । पाण्डेप्रति सत्तारूढ गठबन्धनका दलहरूभित्र नकारात्मक धारणा छैन । संसद्मा फरक प्रवृत्तिका सांसदहरूको जमघट हुने भएकाले संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सभामुख पाण्डे उपयुक्त पात्र हुन सक्ने गठबन्धन दलका नेताहरूको बुझाइ छ । पाण्डेले यसअघि तत्कालीन एमालेको संसदीय दलको प्रमुख सचेतक भएर भूमिका निर्वाह गरिसक्नु भएकाले संसदीय राजनीतिमा अनुभवी नेताको रूपमा पनि चिनिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?