बागलुङ । नेपोलियम बोर्नापाटको एउटा चर्चित भनाइ छ, ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।’ त्यसैले हार्नबाट नडराएका एक व्यक्ति तेस्रो प्रयासमा संसद्भवन छिर्ने भएका छन् । प्रसंग हो बागलुङको । पटक-पटकको असफलतालाई आफ्नो सिकाइका रूपमा लिँदै आउनुभएका बागलुङ कांग्रेस सभापति जित शेरचन तेस्रो प्रयासमा प्रदेश संसद् भवन छिर्दै हुनुहुन्छ । दुईपटकसम्म पराजित शेरचन तेस्रो प्रयासमा जनताले उहाँलाई सांसद अनुमोदन गरेका छन् । २०७४ को प्रदेश निर्वाचन र २०७६ को प्रदेश उपनिर्वाचनमा हार बेहोर्नुभएका शेरचन २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी हुनुभएको छ ।
‘जीवन एउटा नदीको पानीजस्तै हो खोलामा बग्ने क्रममा कहिले पहाडसँग ठोकिन्छ त कहिले ढुंगासँग तर गन्तव्यमा पुग्न निरन्तर बग्न जरूरी छ, तेस्रो प्रयासमा सांसद बनेको छु, यसलाई सफलता भन्न सक्दिनँ, मैले संसद्मा पुगेपछि कामका आधारमा जनताले मूल्यांकन गर्नेछन्,’ नवनिर्वाचित प्रदेशसभा सदस्य शेरचनले भन्नुभयो, ‘उत्पादनसँग जनतालाई जोडेर आम्दानी बढाउन सकेमा मात्रै प्रदेश सरकार बलियो बन्न सक्दछ, स्थानीय तहलाई संघसँग जोड्ने पुलका रूपमा प्रदेश सरकार अग्रसर हुन आवश्यक छ ।’
शेरचनले आफू निरन्तर राजनीति जीवनमा अगाडि बढेको भन्दै तेस्रो पटकमा संसद् भवन छिर्न पाउँदा जनताले आफ्नो यात्रामा थप बल पुर्याएको आभास भएको बताउनुभयो । यदाकदा प्रदेश संरचनाको विषयमा धेरै प्रश्नहरू उठिरहेको पाइएको बताउँदै शेरचनले प्रदेश सरकार बलियो बनाउन जनता उत्पादनसँग जोडिन आवश्यक रहेको बताउनुभयो । ‘निर्वाचनका एजेण्डा परम्परागत भए, विकास संरचना पञ्चायती शैलीका भए, गुरुयोजना बनाएर कृषिमा आधुनिकरण र पर्यटनमा फड्कोसँगै विकासका पूर्वाधार निर्माणमा लाग्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘तेस्रो पटकमा सांसद भएँ तर सफलता-असफलता पाँच वर्षपछि मात्रै पत्ता लाग्ला, जनताको सेवकका रूपमा सदैव राजनीतिमा छु, जनतासमक्ष पुगेर गरेका बाचा बिर्सने छैन ।’
यस्तो छ शेरचनको राजनीतिक यात्रा
नेपाली कांग्रेस बागलुङका सभापतिसमेत रहनुभएका जित शेरचन २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । राष्ट्रिय जनमोर्चाको बलियो क्षेत्रका रूपमा हेरिने पश्चिम बागलुङमा शेरचन पहिलो प्रयासमै असफल हुनुभयो । उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती तीन हजार बढीको फराकिलो मतान्तरका साथ विजयी हुनुभएको थियो । घर्तीले ११ हजार ८८४ र शेरचनले आठ हजार ६२४ मतमात्रै प्राप्त गर्नुभएको हो ।
निर्वाचित हुनुभएका टेकबहादुर घर्तीको २०७५ मंसिर २७ गते निधनपछि रिक्त रहेको क्षेत्रमा सरकारले २०७६ मंसिर १४ गते उपनिर्वाचन गरायो । उपनिर्वाचनमा समेत शेरचन चुनावी मैदानमा आउनुभयो । तर, शेरचन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीसँग पराजित हुनुपर्यो ।
शेरचनलाई जनमोर्चाका शाहीले दुई हजार ९७ मतान्तरले पछि पार्दै दोस्रो प्रयास विफल बनाउनुभएको थियो । हालै सम्पन्न निर्वाचनमा समेत शेरचनले आफ्नो क्षेत्रभन्दा बाहिरबाट टिकट प्राप्त गर्नुभएको थियो । तेस्रोपटक चुनावी मैदानमा आउनुभएका शेरचनलाई यसपटकको निर्वाचनमा दुईपटक हराउने राष्ट्रिय जनमोर्चाले समेत सघाएको थियो ।
शेरचन यसपटक आफू दुईपटक पराजित भएको क्षेत्र छोडेर नयाँ क्षेत्रमा उम्मेदवारी बन्नुभएको थियो । बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा पराजित शेरचन यसपटकको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट सांसद चुनिनुभएको छ । शेरचनले एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई तीन हजार मतान्तरले पराजित गर्नुभएको थियो । शेरचनले १५ हजार १६ मत प्राप्त गर्दा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभएको थियो ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शेरचन नेविसंघमा आबद्ध हुनुहुन्थ्यो । बागलुङमा २०६२ सालमा नेविसंघबाट ताहाचल क्याम्पस काठमाडौंको स्ववियु सभापति निर्वाचित शेरचन २०६७ मा नेविसंघको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कांग्रेस बागलुङको जिल्ला सभापति हुनुहुन्छ । सभापति बनेको एक वर्ष नपुग्दै पार्टी कार्यालय बनाउनका लागि बागलुङ बजारमा जग्गा खरिद गरिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच