बारामा चोरीको घटनामा वृद्धि

कलैया उपमहानगरपालिका-१ हनुमान मन्दिर नजिकै रहेको चोरी भएको न्यू प्रकाश किराना पसल तथा पसलका संचालक । तस्बिरः सञ्जिवकुमार मिश्र

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । बारामा विगत केही दिन यता चोरीको घटनामा वृद्धि भएको छ । जयप्रकाश साह तेलीको नाममा दर्ता रही साहको भाई सुनिल कुमार साह तेलीले संचालन गर्दै आएको कलैया उपमहानगरपालिका-१ स्थित न्यू प्रकाश किराना पसलमा बुधवार राती चोरी भएको छ ।

बाराको सदरमुकाम कलैया स्थित कलैया बजारको मुटु मानिने हनुमान मन्दिर नजिकै रहेको पसलमा चोरहरुले सटरको ताल्चा फोडी चोरी गरेका हुन । चोरहरुले साहको पसलको सटरको ताल्चा फोडी नगद तथा पिठोको प्याकेट र चामलको बोरा समेत चोरेर लगेको साहले बताउनुभयो ।

बुधवार पसल संचालन गरी राती पसल बन्द गरेर घर गयौं साहले भन्नुभयो,‘ दिनहुँ जसो पसल संचालन गरी ९ बजे तिर पसल बन्द गर्थ्याैं । तीन वटा सटर रहेको पसलमा अरु सटरहरु बाहिर र भित्रबाट समेत बन्द गरिएको थियो तर पश्चिम तर्फ मुल सडक तिरको सटरको चोरहरुले ताल्चा फोडेका छन् । त्यता तिर समानहरु राख्ने र्‍याक रहेकोले भित्रबाट सटर बन्द थिएन । बाहिरबाट मात्र ताल्चा हालिएको थियो । हामीहरु घरमा सुतिरहेका थियौ । अचानक बिहिवार विहान दुई बजे छिमेकीले पसल खुल्ला रहेको भनि जानकारी गराएपछि म हतार हतार तल झरे । छिमेकीहरु बिहेको भोजबाट अबेर घर फर्किदा पसलको सटर खुल्ला देखेर मलाई जानकारी गराएका थिए । पसलमा पुग्दा चोरहरुले पिठोका केही प्याकेटर चामलका बोरा र काउन्टरमा रहेको ३० हजार नगद समेत लुटेर लगेको उहाँले जानकारी दिनुभयो । ’

म पसलमा पुग्ने वितिकै प्रहरीलाई फोन मार्फत जानकारी गरायौं । उनीहरु त्यही बेला आएर पसल हेरेर गए । चोरहरुलाई चाँडै समाउने आश्वासन दिएर गएको उहाँले बताउनुभयो ।

यसै गरि कलैया उपमहानगरपालिका-२७ रामपुरमा रहेको खाजा पसलमा मंगलबार राती चोरहरुले चोरी गरेका छन् । पसलबाट समेत नगद तथा सरसमानहरु चोरहरुले चोरेर लगेको वडा नम्बर-२७ का पूर्व वडाध्यक्ष रेयाजुल हक अंसारीले बताउनुभयो ।

यो भन्दा अगाडी कार्तिक महिनामा कलैया उपमहानगरपालिका-२७ कै पिर महम्मद अंसारीको पसलबाट समेत चोरहरुले नगद तथा सरसमानहरु चोरेर लगेको अंसारीले जानकारी दिनुभयो । दिनहुँजसो चोरीको घटनामा वृद्धि हुँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको अंसारीले आरोप लगाउनुभयो ।

यसै गरि गत शनिबार कलैया उपमहानगरपालिका-६ पर्सा टोलमा सटर फोडी चोरले चोरी गरेका थिए । त्यहाँबाट समेत कलैया उपमहानगरपालिका-४ का चोर हरिहर मण्डलले नगद तथा सरसमानहरु चोरी गरि लगेको हार्डवेयर पसल संचालक विजय साहले बताउनुभयो ।

पसलमा चोरी गर्ने मण्डल सीसी क्यामेरामा प्रष्ट देखिएको र उनी अहिले फरार रहेको उहाँले बताउनुभयो । चौबिसौ घण्टा प्रहरीको निगरानीमा रहने कलैया बजार जस्तो ठाउँमा चोरी हुनु दुःखद कुरा हो, अंसारीले भन्नुभयो,‘प्रहरीले आफनो डयुटी इमान्दारीपूर्वक नगर्दा नै चोरीको घटनामा वृद्धि भएको हो । ११ बजे राती पछि सदरमुकामको मुख्य चौक भरतचौकमै प्रहरी हुँदैन । गस्ती पनि बन्द छ । प्रहरी गस्ती नहुँदा चोरहरुको मनोबल बढेको हो । पहिला पहिला कहिलेकाहीँ चोरी हुन्थ्यो तर अब त दिनहुँ जसो चोरीको घटनामा वृद्धि हुन थालेको उहाँले बताउनुभयो ।’

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनको लागि लज्जास्पद कुरा भएको बताउनुभयो । २४ औ घण्टा प्रहरी प्रशासन रहने ठाउँमा यसरी चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनले आफनो काम कर्तव्यबाट पन्छिएको प्रत्यक्ष प्रमाण हो । प्रहरी प्रशासनले इमान्दारीपूर्वक आफनो कर्तव्यको पालना नगरेकै कारण चोरीको घटनामा वृद्धि भएको उहाँले आरोप लगाउनुभयो ।
जनताको जिउधनको सुरक्षा भन्दा आफनो खल्ती भर्ने र तस्करी गराउने काममा प्रहरी सक्रिय हुँदा जिल्लामा अहिले चोरीको घटनामा वृद्धि भएको उहाँले बताउनुभयो ।

दिनहुँ जसो गस्तीको काम भइरहेको छ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो । जनताको जिउधन सुरक्षाको लागि अहोरात्र खटिरहेको र चोरी गर्नेहरुलाई पक्राउ गरि कानूनी कठघेरामा उभ्याउने काम हुँदै आएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?