कफी दिवसका अवसरमा कफीको मूल्य निर्धारण

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट भन्ने नाराका साथ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी दिवस मनाउने भएको छ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीको उत्सवका रूपमा रहेको राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मंसिर शुक्रबार नुवाकोटको सदरमुकाम विदुरमा विभिन्न कार्यक्रम गरी मनाइने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

कफी दिवसकै अवसरमा बोर्डले यस वर्षका लागि कफीको मूल्य पनि निर्धारण गरेको छ । यही मंसिर १ गतेदेखि लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकेको हो । फ्रेस चेरी कफीतर्फ ग्रेड ‘ए’ प्रतिकेजी ९५ रुपैयाँ, ग्रेड ‘बी’ प्रतिकेजी ८५ रुपैयाँ रहेको छ । पार्चमेन्ट कफीतर्फ गे्रड ‘ए’ प्रतिकेजी चार सय ७५ रुपैयाँ र ग्रेड ‘बी’ प्रतिकेजी चार सय २० रुपैयाँ रहेको छ ।

त्यस्तै, ड्राइ चेरी कफीतर्फ ग्रेड ‘ए’ प्रतिकेजी एक सय ७० रुपैयाँ र ग्रेड ‘बी’ प्रतिकेजी एक सय १५ रुपैयाँ रहेको छ । बोर्डका अनुसार नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दशकअघिसम्म कुलीन वर्गको मात्र पेय पदार्थका रूपमा लिइने कफी आज हरेक भान्सा प्रयोग हुन थालेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार १० करोड ६७ लाख बराबरको १९८.७ मेट्रिकटन कफी आयात हुँदा नौ करोड ६० लाखको ७२.४८ मेट्रिकटन कफी विदेश निर्यात भएको छ । भन्सार विभागको आव २०७८/०७९ को तथ्यांकअनुसार १२ करोड करोड ७६ लाख बराबरको २७९.८ मेट्रिकटन कफी आयात हुँदा ११ करोड ७० लाखको ६९.५ मेट्रिकटनमात्रै कफी निर्यात भएको छ । गत आवमा नेपालभर तीन सय ५५ मेट्रिकटन ग्रिन विन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झण्डै २० प्रतिशत कफी विदेश निर्यात भएको छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य मुलुकको भन्दा बढी मूल्य पाउँदै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त हुने गरेको छ ।

अन्तर्राष्ट्रिय कफी संगठन(आइसिओ) को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन÷निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २१ सय ६० मेट्रिकटनभन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्चरूपमा माग बढेको देखाएको छ । तर, आन्तरिक उत्पादनले एक महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?