बारामा चोरीको घटनामा वृद्धि

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । बारामा विगत केही दिनयता चोरीको घटनामा वृद्धि भएको छ । जयप्रकाश साह तेलीको नाममा दर्ता रही साहको भाइ सुनिलकुमार साह तेलीले सञ्चालन गर्दै आएको कलैया उपमहानगरपालिका-१ स्थित न्यु प्रकाश किराना पसलमा बुधबार राति चोरी भएको छ । बाराको सदरमुकाम कलैयास्थित कलैया बजारको मुटु मानिने हनुमान मन्दिरनजिकै रहेको पसलमा चोरहरूले सटरको ताल्चा फोडी चोरी गरेका हुन । चोरहरूले साहको पसलको सटरको ताल्चा फोडेर नगद तथा पीठोको प्याकेट र चामलको बोरासमेत चोरेर लगेको साहले बताउनुभयो ।

साहले भन्नुभयो, ‘दिनहुँजसो पसल सञ्चालन गरी ९ बजेतिर पसल बन्द गर्‍यो । तीनवटा सटर रहेको पसलमा अरू सटरहरू बाहिर र भित्रबाट समेत बन्द गरिएको थियो तर पश्चिमतर्फ मूल सडक तिरको सटरको चोरहरूले ताल्चा फोडेका छन् । त्यतातिर समानहरू राख्ने र्‍याक रहेकाले भित्रबाट सटर बन्द थिएन । बाहिरबाट मात्र ताल्चा हालिएको थियो । हामीहरू घरमा सुतिरहेका थियौँ । अचानक बिहीबार बिहान दुई बजे छिमेकीले पसल खुल्ला रहेको भनि जानकारी गराएपछि म हतारहतार तल झरे । छिमेकीहरू बिहेको भोजबाट अबेर घर फर्किंदा पसलको सटर खुल्ला देखेर मलाई जानकारी गराएका थिए । म पसलमा पुग्दा चोरहरूले पीठोका केही प्याकेट र चामलका बोरा र काउण्टरमा रहेको ३० हजार नगदसमेत लुटेर लगेको उहाँले जानकारी दिनुभयो ।’

म पसलमा पुग्नेबित्तिकै प्रहरीलाई फोनमार्फत जानकारी गराएँ । उनीहरू त्यही बेला आएर चोरहरूलाई चाँडै समाउने आश्वासन दिएर पसल हेरेर गए, उहाँले बताउनुभयो । यसैगरी कलैया उपमहानगरपालिका-२७ रामपुरमा रहेको खाजा पसलमा मंगलबार राति चोरहरूले चोरी गरेका छन् । ती पसलबाट समेत नगद तथा सरसमानहरू चोरहरूले चोरेर लगेको वडा नम्बर २७ का पूर्व-वडाध्यक्ष रेयाजुल हक अन्सारीले बताउनुभयो ।

योभन्दा अगाडि कात्तिक महिनामा कलैया उपमहानगरपालिका-२७ कै पिर महम्मद अन्सारीको पसलबाट समेत चोरहरूले नगद तथा सामानहरू चोरेर लगेको अन्सारीले जानकारी दिनुभयो । दिनहुँजसो चोरीको घटनामा वृद्धि हुँदासमेत प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको अन्सारीले आरोप लगाउनुभयो ।

यसैगरी, गत शनिबार कलैया उपमहानगरपालिका-६ पर्सा टोलमा सटर फोडी चोरले चोरी गरेका थिए । त्यहाँबाट समेत कलैया उपमहानगरपालिका-४ का चोर हरिहर मण्डलले नगद तथा सरसमानहरू चोरी गरी लगेको हार्डवेयर पसल सञ्चालक विजय साहले बताउनुभयो । पसलमा चोरी गर्ने मण्डल सिसी क्यामेरामा प्रष्ट देखिएको र उनी अहिले फरार रहेको उहाँले बताउनुभयो ।

चौबिसै घण्टा प्रहरीको निगरानीमा रहने कलैया बजार जस्तो ठाउँमा चोरी हुनु दुःखद कुरा हो, अन्सारीले भन्नुभयो, ‘प्रहरीले आफनो ड्युटी इमानदारीपूर्वक नगर्दा नै चोरीको घटनामा वृद्धि भएको हो । ११ बजे रातिपछि सदरमुकामको मुख्य चोक भरत चोकमै प्रहरी हुँदैन । गस्ती पनि बन्द छ । प्रहरी गस्ती नहुँदा चोरहरूको मनोबल बढेको हो । पहिला पहिला चोरी हुन्नथ्यो तर, अब त दिनहुँजसो चोरीको घटना हुन थालेका छन् ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनको लागि लज्जास्पद कुरा भएको बताउनुभयो । २४ सै घण्टा प्रहरी प्रशासन रहने ठाउँमा यसरी चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनले आफ्नो काम कर्तव्यबाट पन्छिएको प्रत्यक्ष प्रमाण हो । प्रहरी प्रशासनले इमानदारीपूर्वक आफ्नो कर्तव्यको पालना नगरेकै कारण चोरीको घटनामा वृद्धि भएको उहाँले आरोप लगाउनुभयो । जनताको जिउधनको सुरक्षाभन्दा आफ्नो खल्ती भर्ने र तस्करी गराउने काममा प्रहरी सक्रिय हुँदा जिल्लामा अहिले चोरीको घटनामा वृद्धि भएको उहाँले बताउनुभयो ।

यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापा भने प्रहरीले दिनहुँजसो गस्ती गरिरहेको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?