पुनः मतदान भएको दोलखाका १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको हो । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार ५१४ मतदाता रहेका थिए । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो ।

ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् । उता स्याङ्जा-२ र बाजुरामा मतगणना जारी छ । दुवै स्थानमा कांग्रेसले अग्रता लिइरहेको छ ।

सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट झिनो मतान्तरले विजयी

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । सञ्चारमन्त्रीसमेत रहनुभएका कार्की झिनो मतान्तरले विजयी हुनुभएको हो । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याउनुभयो । दुईजनाबीचको मतान्तर ११२ रहेको छ । भोजपुरबाट लगातार तीनपटक चुनाव हारेपछि अघिल्लो चुनावदेखि कार्की सुनसरीबाट प्रतिस्पर्धा गर्न थाल्नुभएको हो । कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराउनुभएको थियो । ७४ मा कार्कीको ३२ हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याउनुभएको थियो ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई फराकिलो अन्तरले पराजित गरे पनि यसपालि भने उहाँले निकै सकसपूर्ण तरिकाले चुनाव जित्नुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बन्दा सुरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री हुनुभएका उहाँ हाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । कार्कीले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । कार्की यसअघि समानुपातिक तर्फबाट सांसद हुँदै दुई कार्यकाल अर्थमन्त्रीसमेत भइसक्नुभएको छ । विद्यार्थी राजनीतिबाट उदाउनुभएका कार्की २६ वर्षकै उमेरमा २०३९ सालमा नेविसंघको केन्द्रीय सभापति हुनुभएको थियो ।

जनताको भावनाअनुसार अगाडि बढ्छु : कार्की

सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भन्नुभयो, ‘जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिनुभएको छ त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्नेछु ।’

मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गर्नुभयो । यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

समानुपातिकको मतगणना अन्तिम चरणमा
प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल एक करोड तीन लाख ६८ हजार सदर मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २७ लाख ६९ हजार मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४० हजार मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र ११ लाख ६० हजार मतका साथ तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १६ हजार मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ८५ हजार मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले चार लाख २० हजार मत र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादी दुई लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । यो निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?