प्रधानमन्त्री बन्न कांग्रेसभित्र लिगलिगे दौड

शक्ति संघर्ष तीव्र भएसँगै किचलोको संकेत, शीर्ष नेता एकठाउँमा उभिँदा युवापुस्ताको फरक सोच

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम नआउँदै राजनीतिक दलहरू सरकार गठनको कसरतमा लागेका छन् । वर्तमान पाँच दलीय सत्ता गठबन्धन आगामी सरकार गठन र महत्वपूर्ण संवैधानिक पदमा शक्ति बाँडफाँटको लागि गृहकार्यमा जुटेको छ । तर, गठबन्धनबाट भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन । भावी सरकारको नेतृत्वबारे निर्णय नहुँदै नेपाली कांग्रेसभित्र भने आगामी प्रधानमन्त्रीको लागि शक्ति संघर्ष सुरु भइसकेको छ । प्रधानमन्त्री बन्नको लागि सुरु भएको शक्ति संघर्षले कांग्रेसमा किचलो हुने संकेत देखिएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व लिन कसरत गरिरहनु भएको छ ।

तर, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीमा पुस्तान्तरण हुनुपर्ने भन्दै देउवालाई अभिभावकको भूमिकामा बस्न निरन्तर दबाब दिइरहेका छन् । महामन्त्री थापा प्रधानमन्त्री बनेरै छाड्ने भन्दै संसदीय दलको चुनावका लागि तीव्र गृहकार्यमा लाग्नुभएको छ । अर्का महामन्त्री शर्मा थापालाई संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्री बनाउन कस्सिएर लाग्नुभएको छ । त्यसो त नेपाली कांग्रेसभित्र सभापति देउवा र महामन्त्री थापासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.शशांक कोइरालाले आकांक्षा राख्नुभएको छ । आफूलाई भावी प्रधानमन्त्री भन्दै प्रतिनिधिसभा सदस्यका लागि भोट माग्नुभएका वरिष्ठ नेता पौडेलले पनि चुनाव जितेलगत्तै काठमाडौं आएर सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरिसक्नु भएको छ । अर्का नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीको उम्मेदवार भन्दै भेटवार्ता अघि बढाउनुभएको छ । कांग्रेसभित्र प्रधानमन्त्री बन्न अन्य पार्टीमा जस्तो सहज छैन् । संसदीय दलको नेता मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने कांग्रेसको विधानमा स्पष्ट छ । त्यसकारण कांग्रेस संसदीय दलमा जो दलको नेता चुनिन्छ त्यो नै कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने अवस्था आए स्वतः उम्मेदवार हुन्छ ।

प्रधानमन्त्रीका आकांक्षी धेरै भए पनि संसदीय दलको नेताका लागि देउवा र थापाबीच नै अन्तिम प्रतिस्पर्धा हुने कांग्रेसकै नेताहरूको भनाइ छ । कांग्रेसभित्रको अंकगणित हेर्दा सभापति देउवाले इच्छा राख्दासम्म संस्थापन पक्षका तर्फबाट संसदीय दलको नेता पदमा अर्को उम्मेदवार बन्न सक्ने अवस्था छैन । त्यति मात्र होइन अनपेक्षित राजनीतिक परिदृश्यबाहेक देउवालाई संसदीय दलमा पराजित गर्ने इतर समूहको अंकगणित छैन । संसदीय दलमा संस्थापन पक्षको करिब दुईतिहाइ बहुमत हुने चुनावी परिणामले देखाएको छ । त्यसैले इतर पक्षका गगन थापा वा कोइरालाद्वयले यथास्थितिमा चुनाव जित्ने सम्भावना छैन । इतर पक्षको तर्फबाट एकजना मात्रै उम्मेदवार भएको अवस्थामा र संस्थापन पक्षभित्र विवाद भएको अवस्थामा भने संसदीय दलभित्रको अंकगणित फेरिन सक्छ । ०५८ सालमा यसरी नै कांग्रेसमा अंकगणित फेरिँदा संस्थापनइतर समूहका नेता देउवाले संस्थापन पक्षका नेता सुशील कोइरालालाई भारी मतान्तरले पराजित गरी प्रधानमन्त्री बन्नुभएको थियो ।

चाहनाले मात्रै कोही प्रधानमन्त्री हुँदैन : डा.कोइराला
कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका डा.शेखर कोइरालाले कसैले प्रधानमन्त्री हुने चाहना राख्दैमा पूरा हुन नसक्ने बताउनुभएको छ । विराटनगर महानगरपालिका–९ स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा.कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन । संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ । पहिले संसदीय दलको नेता हुनुपर्‍यो नि । यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन । पहिले त यसमा हामी कुरा गर्छौं । त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निक्र्योल हुन्छ । पार्लियामेन्ट्री पार्टीको लिडरसिपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो । हामीले कोसिस गर्ने हो नम्बर पुर्‍याउन । नम्बर गेम लिन प्रयास गर्ने हो, तर नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन ।’

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको जिकिर गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको जिकिर गर्दै भन्नुभयो, ‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो । अहिलेको परिस्थिति देशले एकपटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो । पार्टी सभापतिले मेरो प्रस्तावलाई सहज रूपमा नै लिनुभएको छ ।’

संसदीय दलमा निर्वाचन हुन्छ : महामन्त्री शर्मा
कांग्रेस संसदीय दलको नेतामा अर्का महामन्त्री गगन थापालाई समर्थन गर्ने बताइसक्नु भएका महामन्त्री विश्वप्रकाश शर्माले थापा सर्वसम्मत संसदीय दलको नेता नभए संसदीय दलमा निर्वाचन हुने बताउनुभएको छ । मुलुकले परिवर्तन खोजिरहेको र त्यसको लागि देशको नेतृत्व गर्ने व्यक्ति पनि परिवर्तन हुनुपर्ने भन्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले देशको नेतृत्व बदल्ने हो । प्रधानमन्त्री पदका लागि पछिल्लो पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने विश्वास जागृत गराउने हो । अधिकतम् सम्भावना के हो भने हामी सर्वसम्मतिमै संसदीय दलको नेताको टुंगोमा पुग्नेछौँ । त्यो सर्वसम्मति हुँदा युवाले नेतृत्व गर्ने गरी नै हुनेछ । सर्वसम्मति हुन नसके प्रतिस्पर्धा हुनेछ ।’

देउवाको विकल्प खोज्नु हुन्न : उपसभापति खड्का
कांग्रेस संसदीय दलको नेताको लागि दोस्रो पुस्ताका नेताहरूले कसरत गरिरहेको बेला नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ । बिहीबार कांग्रेसका नेता स्व.कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको हो । पार्टी सभापति देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ-बायाँ कुरा गरिराख्नु नपर्ने जिकिर गर्दै खड्काले भन्नुभयो, ‘सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ-बायाँ कुरा गरिराख्नु पर्छ जस्तो मलाई लाग्दैन । अहिले हामी कांग्रेसभित्र एकताको वातावरण बनाउनुछ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ ।’

‘अहिलेको अवस्थामा देउवाको विकल्प खोज्नु हुन्न’
सबैभन्दा ठूलो दलका रूपमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास थालेको छ । चुनावी परिणामबाट पाँच दलीय संयुक्त गठबन्धनको सरकार बन्ने सुनिश्चिततासँगै नेपाली कांग्रेस सक्रिय भएको हो । वर्तमान गठबन्धनका योजनाकार प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आगामी सरकार बन्ने नेपाली कांग्रेसका पूर्व-उपसभापति तथा पूर्व-उपप्रधानमन्त्री विमलेन्द्र निधिको विचार छ ।
संसदीय दलको नेतृत्वमा वर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा नै हुनुहुने छ । निधिको विश्वास छ, निर्वाचनका समयमा गठबन्धनमा रहेका सबै दलको समर्थन पनि देउवालाई नै रहनेछ । निधिका अनुसार अहिले नेपाली कांग्रेस भित्रबाट कुनै अर्को विकल्प खोजिने अवस्था नरहेको हुनाले देउवा नै अनिच्छुक भएमा मात्र वरिष्ठ नेता रामचन्द्र पौडेलको बलियो दाबी हुने सम्भावना छ ।

अहिले संसदीय दलको नेतृत्व दाबी गरिरहनु भएका डा. शेखर कोइराला, डा. शशांक कोइराला र पछिल्लो पुस्ताबाट गगन थापाहरू हुनुहुन्छ । प्रतिनिधिसभामा पुग्नुभएका सांसदहरूले सरकारको नेतृत्वको चाहना राख्नु र दाबी गर्नु स्वाभाविक हो । उहाँहरू सबै योग्य हुनुहुन्छ । तर, अप्ठेरो अवस्थामा संविधानलाई सही बाटोमा ल्याउन गठबन्धनको नेतृत्व सफलतापूर्वक गर्नुभएका देउवाको विकल्प खोज्ने अवस्था अहिल्यै नआएको निधिको विश्लेषण छ ।

हरेक राजनीतिक संक्रमणको कठिन घडीमा देउवाको नेतृत्व रहेको उल्लेख गर्दै हिमालय टाइम्सको जिज्ञासामा निधिले भन्नुभयो, संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थिरता र सहकार्यका लागिसमेत अहिले परिपक्व नेतृत्वको आवश्यकता छ ।
निर्वाचन परिणाम र सरकार निर्माणकै सन्दर्भमा निधि र जनमत पार्टीका नेता सिके राउतका बीचमा बुधबार मात्रै भेटवार्ता भएको थियो । राउतको जनमत पार्टीको प्रत्यक्षमा एकस्थान मात्रै भए पनि समानुपातिकमा कमसेकम चार स्थान हुने परिणाममुखी आँकडा छ ।

निधिसँगको भेटमा राउतले आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताउँदै संयुक्त सरकारमा जान सक्ने संकेत दिनुभएको थियो । यसैबीच, निधिकै पहलमा बिहीबार प्रधानमन्त्री देउवा र राउतबीच वालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उहाँहरूबीच आगामी सरकार निमार्णका बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।

यस्तै, नेकपा माओवादीका नेता एवं मधेश विभाग प्रमुख गणेश साहले पनि भावी प्रधानमन्त्रीका रूपमा देउवा नै उचित हुने तर्क गर्नुभएको छ । हिमालय टाइम्ससँग कुरा गर्दै नेता साहले पाको र अहिलेको हिसाबमा सबै सन्तुलन कायम गर्न देउवाको विकल्प खोज्ने बेला आइनसकेको बताउनुभयो । यस्तै, उहाँले प्रदेश सरकार गठन गर्न पनि प्याकेजमा सहमति खोज्नु नै उचित हुने सुझाव दिनुभयो । उहाँले गठबन्धनका दलहरूबीच शक्ति बाँडफाँट गरेर सबैलाई सम्मानजनक स्थान दिँदै आगामी पाँच वर्षका लागि स्थायी सरकार बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । संयुक्त गठबन्धनको अर्को सहयात्री नेकपा माओवादी, नेकपा एकीकृत, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चासमेत आन्तरिक छलफलमा जुटिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?