फेरिए प्रतिनिधिका व्यवहार र शैली : थाले विजयोत्सव सँगै रचनात्मक काम

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा 
म्याग्दी  ।  धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् ।

मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाउनु भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट उमेद्वार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र) का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयउत्सव मनाउन थाल्नुभएको छ ।

भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजयउत्सव मनाउन लागेको जुग्जालीले बताउनु भयो ।  मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाटा बोकेर बिहिबार त्यहाँ पुग्नुभयो । ७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ता भएका व्यक्ति हुनु हो । उहाँकी ७७ वर्षीया श्रीमती रतिकला पनि लडेर हिड्डुल गर्न सक्ने अवस्थामा हुनुहुन्न उहाँहरुको ढुंगा, माटो र काठले बनेको दुई तले घर जिर्ण बनेर भत्कने अवस्थामा छ । खरले छाएको पिढिको छानो चुहिने भएपछि बाहिर प्लास्टिक राखिएको छ र फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आउनु भएको छ ।

तिलकुमारी उहाँहरुकी एकमात्र सन्तान हुनु हो । आफ्नै जग्गा जमिन नभएका उहाँहरुको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो । आर्थिक अभावका कारण घर मर्मत गर्न सक्नुभएको थिएन । जिर्ण घरमा जोखिम मोलेर बस्दै आउनुभएको छ । जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाटा उपलब्ध गराउनु भएको हो ।

भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयउत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो बिचार अनुसार दुख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको जुग्जालीले बताउनु यभो । साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको र मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एक/एक वटा कार्यक्रम गर्ने जुग्जालीले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन), नेकपा माओवादी केन्द्रका पृथीलाल विक, नविन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पत्तीको समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

 फगामीका छोरी तिलकुमारीले जिर्ण घर मर्मतका लागि सांसदनै जस्तापाटा बोकेर घर आएकोमा अचम्म लागेको बताउनु भयो । ‘सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउदैनन भन्ने सुनेको थिएँ’, तिलकुमारीले भन्नुभयो ‘उहाँ (रेशम जुग्जाली) त सांसद भएर पनि आफै जस्तापाटा बोकेर हाम्रै घरमा आएको देख्दा अचम्म लाग्यो ।’

 नेपाली काँग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाता फेरिदिने काँग्रेसका नेता पुनले बताउनु भयो । फाले फगामी र रिमतिले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?