सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्न एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई शेरधन राईकाे आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिनुभएको छ ।

शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुग्नुभएका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गर्नुभएको हो ।

उहाँले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिनुभएको छ । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित हुनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?