धनगढीमा बालिका मृत्यु प्रकरणः आफन्तले शव बुझे, के भयो सहमति ?

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी १५ वर्षीया बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार शव बुझिएको हो ।

चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उहाँले बताउनु भयो । अब शवको पोस्टमार्टम गरेर चेतनाको दाहसंस्कार गरिने छ ।

प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ । बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल विरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् । चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका ६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन । साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो ।

प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनमा उत्रिएका २३ जना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई भने छाडिएको छैन। नियन्त्रणमा लिइएकाहरूलाई रिहाइ गर्न माग गर्दै धनगढीमा अहिले पनि प्रदर्शन जारी छ ।

आज बिहानैदेखि चेतनाको लागि न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । चेतना धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?