दाङ । लमही नगरपालिका–३ निवासी रमेश चौधरीले धान खेती गर्न थुप्रै सास्ती खेप्नुप-यो । अनुदानको रासायनिक मल पाउन सक्नु भएन । खडेरीले झन समस्या थप्यो । जेनतेन धान उत्पादन भयो । रमेशले धान बिक्री गर्न खोज्नुभयो । तर खेती गर्न लागेको लागत समेत नउठ्ने अवस्था भयो । ‘खेती गर्दा जति लगानी लाग्यो । बिक्री गर्दा लगानी समेत नउठ्ने अवस्था भयो’ उहाँले भन्नुभयो, ‘कसरी खेतीपातीमा टिक्न सकिन्थ्यो ? ’ रमेशले २४ सय रुपैयाँ क्वीन्टल धान बिक्री गर्नुभयो । रमेश जस्तै किसानले लगानी अनुसार धानको उचित मूल्य पाएका छैनन् ।
किसान यसपालि पनि धानको सही मूल्य नपाउँदा ठगिएकाका छन । राइस मिल तथा गल्ला खरिद गर्ने व्यापारीले धान खरिद गरिरहेका छन । उनीहरुले किसानबाट आफूखुशी मूल्य तोकेर धान खरिद गर्ने गरेका छन् । सरकारले तोकेको मूल्य भन्दा थोरै मूल्यमा धान खरिद गर्ने गरेका छन् । नेपाल सरकारले यसपालि धानको मूल्य तोकेको छ । मध्यम धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ रुपैयाँमा खरिद गर्न सरकारले मूल्य तोकेको छ । मोटो धानको मूल्य प्रतिक्वीन्टल दुई हजार ९ सय ६७ रुपैयाँमा खरिद गर्न तोकिएको हो । तर किसानले सरकारी मूल्यमा धान बिक्री गर्न पाउँदैनन् ।
‘धान खरिद बिक्रीमा बिचौलिया छन् । त्यही भएर हामीले कहिल्यै उचित मूल्य पाउँदैनौं’, किसान गणेश चौधरीले भन्नुभयो– ‘खेती गर्न लाग्ने मल, बिउ, परिश्रमको मूल्य उठ्दैन ।’ स्थानीय स्तरमा अहिले राइस मिलहरुले मसिनो धान प्रतिक्वीन्टल २९ सय देखि तीन हजार रुपैयाँमा खरिद गरेका छन् । मोटो धान प्रतिक्वीन्टल दुई हजार चार सयदेखि दुई हजार पाँच सय रुपैयाँमा खरिद भइरहेको छ । मसिनो धानको रुपमा गोरखनाथ, सुप्रिम सोना, कुबेलनलगायत खरिद गर्ने गरिएको छ भने मोटो धानको रुपमा राधा ४, ६४४४, शंकरलगायत खरिद गर्ने गरिएको छ । गत वर्षको तुलनामा केही रुपमा धानको मूल्य बढेको देखिन्छ । क्वीन्टलमा ५० देखि एक सय रुपैयाँ बढेर ब्यवसायीले खरिद गरेका छन् । पोहरसाल मसिनो धान दुई हजार सात सय रुपैयाँ र मोटो धान दुई हजार तीन सय रुपैयाँ क्वीन्टलमा खरिद गरिएको थियो । तर किसानले पाउने मूल्य लागतको हिसाबले ज्यादै न्यून भएको अगुवा किसान विश्व अधिकारीले बताउनुभयो ।
‘खाद्यान्न उत्पादन गर्ने किसानलाई अन्याय छ । किसानले सरकारले तोकेको मूल्य समेत नपाउने अवस्था छ’– उहाँले भन्नुभयो– ‘सरकारले किसानको समस्या बुझ्दैन ।’ धान खेतीमा लागत घटाउने विषयमा स्थानीय सरकारले कार्यक्रम बनाउन सकेका छैनन् । वर्षे धान खेतीमा किसानले रासायनिक मल र सिंचाईको चरम समस्या भोग्नुप¥यो । जसले गर्दा धान उत्पादन समेत घट्न पुगेको छ । स्थानीय सरकारले धानको उत्पादन बढाउन उन्नत धानको बिउ उपलब्ध गराउने, प्रांगारिक मलको प्रयोगलाई बढाउने योजना बनाएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो ।
‘रासायनिक मलको विकल्पमा प्रांगारिक मल तयार पार्नुपर्ने देखिन्छ । प्रांगारिक मल बनाउन स्थानीय सरकारले ध्यान दिएको छ’– उहाँले भन्नुभयो– ‘रुखका पात पतिङ्गर र गोवर मिसाएर प्रांगारिक मल, गड्यौला मल बनाउने योजना छ ।’ किसानलाई धानको सही मूल्य दिन पहल लिने अध्यक्ष बिष्टले बताउनुभयो । कक्षपति राइस मिलले यस वर्ष पनि धान खरिद गरेको छ ।
‘हामीले धान खरिद गर्दै आएका छौं । गत वर्षको तुलनामा यसपालि धानको मूल्य केही बढेको छ’ म्यानेजर मदन अधिकारीले भन्नुभयो– ‘सरकारी मूल्यमा धान खरिद गर्न सकिदैन । चलनचल्तीको मूल्यमा खरिद गर्छाैं ।’
खाद्य तथा व्यापार कम्पनी लिमिटेड दाङले जिल्लाबाट धान खरिद गर्दैन । सरकारले धानको मूल्य तोके पनि जिल्लाबाट सरकारी निकायले धान खरिद नगर्ने गरेको हो । कार्यालय प्रमुख तिलक सुनारका अनुसार यसपालि तोकिएको धानको मूल्य अनुसार खरिद गर्ने कार्यादेश प्राप्त भएको छैन । ‘हामीलाई धान खरिद गर्न कार्यादेश छैन’ सुनारले भन्नुभयो, ‘जिल्ला भित्र सरकारी दररेटको आधारमा धान खरिद भएको देखिदैन । व्यापारीले पनि नाफा कमाउन सरकारी मूल्य भन्दा कम मूल्यमा धान खरिद गर्ने गरेको पाइएको छ ।’ दाङ जिल्लामा वर्षे धान खेती करिब ३९ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको थियो । तर यस वर्ष खडेरीका कारण ३७ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्रै धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । यस वर्ष १५ लाख ३४ हजार छ सय ३५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ‘यो वर्ष असार, साउन महिनामा पानी परेन । जसले गर्दा धान खेती हुने ठाउँमा धान खेती भएन’– लामिछानेले भन्नुभयो, ‘भदौमा पानी परेकाले धान उत्पादन केही सप्रियो ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका