७५ प्रतिशत दातामा भर पर्ने एचआईभी कार्यक्रमको लक्ष्य ठूला

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

बुटवल । सन् २०२६ सम्ममा एचआईभी संक्रमित ९५ प्रतिशत मानिसहरूको निदान गर्ने, निदान भएकामध्ये ९५ प्रतिशतलाई एन्टिरेट्रोभाइरल थेरापी सुरु गर्ने, त्यसलाई कायम राख्ने र यो थेरापी लिनेमध्ये ९५ प्रतिशत मा भाइरस मात्रालाई न्युन राख्ने लक्ष्य नेपालले लिएको छ। के त्यो सम्भव छ त ? ७५ प्रतिशत दातामा भर पर्ने कार्यक्रमबाट दाताले हात झिकेको दिन यी सब गफ मात्र हुने निश्चित छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात् २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ। जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको थियो। अर्थात् ५५ करोड ५ लाख ४ हजार ५०० नेपाली रुपैयाँ नेपाल सरकारले राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च गरेको छ। बाँकी रकम भने दातृ निकायले उपलब्ध गराएका हुन्।

एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भए पनि गत वर्ष मात्र ५१० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ। केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार सन् २०२१ मा मात्रै ५१० जना व्यक्तिको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको छ। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ। स्वास्थ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत  मानबहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरूको संख्या घट्दै गएको बताउनुभयो।

लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरूको संख्या रहेको जानकारी दिँदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगमा जनचेतना अभिवृद्धिसहितका कार्यक्रमले गर्दा यसको संक्रमण विस्तारै घट्दै गएको बताउनुभयो।

नेपालमा हाल ३० हजारभन्दा बढी संक्रमितहरू रहेको भन्दै उनीहरूको उपचारको लागि  एआरबी  सेवा लिनेहरूको संख्या पनि विस्तारै बढ्दै गएको उहाँको भनाइ रहेको छ।

एचआईभी एड्ससँग काम गर्दै आएको सेभ द चिल्ड्रेन्सका फोकल पर्सन मिमबहादुर सिंहका अनुसार रूपन्देही जिल्लामा १ हजार ४ सय ८७ जनाले नियमित रूपमा  उपचारमा रहेका छन्। उनीहरूको बेला बेलामा रगत संकलन गरी भाइरल लोडको अवस्था जाँच  गरी सोही  अनुसारको  उपचार विधि अबलम्बन गर्दै आइरहेको छ।

सिंहका अनुसार लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा १२ संक्रमित आमाबाट  बच्चा जन्माउन सफल भइएको थियो। सन् २०२१ को अन्तसम्म संसारमा ३ करोड ८४ लाख व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ।

एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भए पनि गत वर्ष मात्र ५१० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ। केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार सन् २०२१ मा मात्रै ५१० जना व्यक्तिको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको छ। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ।

सन् २०२१ मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् १९९६ को तुलनामा ५४ प्रतिशतले घटेको छ। सन् १९९६ मा ३२ लाखमा नयाँ संक्रमण थियो। सन् २०२१ मा थप १ लाख ५० हजार बच्चाहरू संक्रमित भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५२ प्रतिशतले घटेको छ। सन् २०१० मा अझै ३ लाख २० हजार बच्चा संक्रमित भएको अनुमान थियो।

सन्  २०२१ मा मात्रै करिब ६ लाख ५० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको  अनुमान छ, जुन सन् २०१० को तुलनामा ५२ प्रतिशतले कम हो। सन् २०१० मा १४ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान थियो।

सन् २०२१ मा १४ हजार बच्चाहरूमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ३३ प्रतिशतले घटेको छ। सन् २०२१ मा २ लाख ६० हजार नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २०१० को तुलनामा २१ प्रतिशतले घटेको छ।

सन् २०२१ मा मात्रै १ लाख ४० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ। सन् २०१० र २०२० सम्ममा ५५ प्रतिशतले घटेको छ। एचआईभी संक्रमित महासंघ लुम्बिनी प्रदेशका सुपरभाइजर अर्जुन ज्ञवालीले पछिल्लो समयमा एचआईभी संक्रमितहरूमा अन्य रोगहरू समेत देखिने समस्या आएको भन्दै उनीहरूको पनि सहज उपचारको लागि सरकारी निकायबाट ध्यान जानुपर्ने बताउनुभयो।

उनले पछिल्लो समयमा दातृ  निकायको सहयोग समेत घट्दै गएको कारण पनि  एचआईभी संक्रमितहरूको उपचारसहित दैनिक जीवन यापनमा समेत समस्या आएको भन्दै राज्यबाट उचित सम्बोधन हुनुपर्ने माग  समेत गरे।

सन् २०२१ मा ६८० व्यक्तिहरूमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ८४ प्रतिशतले घटेको छ। सन् २००० मा ४ हजार ३ सय ७० व्यक्तिहरूमा नयाँ संक्रमण हुने अनुमान गरिएको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?