विश्वकप फुटबलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

Read Time = 6 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणअन्तर्गत शुक्रबार बिहान सम्पन्न अन्तिम खेलपछि छ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यस्तै चार अंक जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अंक हुँदा पनि गोलअन्तरका आधारमा जर्मनी बाहिरियो ।
समूह चरणको अन्तिम खेलमा चार-दुईको गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अंकका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापानले स्पेनलाई दुई-एक गोलअन्तरले पछाडि पार्‍यो । खेलको ११औं मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनुभयो । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो भने त्यसको तीन मिनेटपछि ओ तानाकाले गोल गरेपछि जापानले दुई-एकको अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

अर्को खेलमा जर्मनी चार-दुई गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भए पनि अन्तिम १६ मा भने पुग्न सकेन् । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाउनुभयो । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई दुई-एक को अग्रता दिलाउनुभयो ।

जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा तीन-दुईको अग्रता दिलाउनुभयो । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गर्नुभएको थियो ।
जापानको यस पुनरागमन जितलाई विवादास्पद पनि भनिएको छ । स्पेनविरुद्ध जापानको यो नतिजाले जर्मनीलाई विश्वकपबाट बाहिरिएको बाटो देखाएको थियो । जर्मनीको भाग्य जापानको हारमा टिके पनि नतिजा भने उसको पक्षमा आएन । यस समूहको अन्तिम खेलमा सबै टोलीलाई उत्तिकै अन्तिम १६ मा पुग्ने मौका थियो । तर अप्रत्याशित रूपमा स्पेनले पराजय भोग्दा जापान र स्पेनलाई फाइदा भयो ।

जापानले अब अन्तिम १६ मा क्रोएसियाको सामना गर्नेछ । यता स्पेनले मोरोक्कोको सामना गर्नेछ । पहिलो खेलमा जापानले जर्मनीलाई स्तब्ध पार्दै विश्वकपको सुरुवात गरेको थियो । जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन चार अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी चार अंक जोडे पनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर+६ तथा जर्मनी+१ मा रहयो । कोस्टारिका तीन अंकका साथ चौथो हुँदै बाहिरियो ।

योसँगै हालसम्म अन्तिम १६ चरणमा खेल्ने १४ टोलीको टुंगो लागेको छ । समूह ‘जी’ र ‘एच’बाहेक अन्य सबैको समूह विजेता र उपविजेता टुंगो लागेको हो । समूह ‘ए’ बाट नेदरल्याण्ड्स सात अंकसहित समूह विजेता बन्यो । सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रूपमा अघि बढेको हो । समूह ‘बी’ मा इंग्ल्याण्ड सात अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले तीन खेलमा पाँच अंक जोड्दै उपविजेताको रूपमा नकआउट चरणमा स्थान पक्का गर्‍यो ।

समूह ‘सी’मा अर्जेन्टिना समूह विजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्लो दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्याण्ड र मेक्सिको समान चार–चार अंक जोडेपनि गोलअन्तरमा पोल्याण्ड अघि बढ्यो । समूह ‘डी’ बाट फ्रान्स शीर्ष स्थानमा र अष्ट्रेलिया दोस्रो स्थानमा रहँदै अघि बढे । समूह ‘ई’बाट जापान र स्पेन, समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया अघि बढे । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?