एक लिजेन्ड खेलाडीको देहावसान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । किशोरबहादुर सिंहले तीसको दशकमा नेपाली ब्याटमिन्टनमा तहल्कै मच्चाउनुभयो । २०२९ देखि २०३४ सालसम्म लगातार राष्ट्रिय ब्याड्मिन्टनमा ६ वर्ष एकलतर्फको उपाधि जितेपछि उहाँ लिजेन्ड खेलाडीमा कहलिनुभयो । त्यसबाहेक टिमस्पर्धालगायत अन्य प्रतियोगितामा भने उहाँले जितेको मेडलको कुनै हिसाब नै छैन ।

२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नेतृत्व सम्हाल्दै खेल प्रशासनमा पनि योगदान पु¥याउनुभएका सिंहले हृदयघातका कारण बिहीबार ७३ वर्षको उमेरमा देहत्याग गर्नुभयो । उहाँको निधनसँगै नेपाली खेलकुदको एक युगको अन्त्य भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ बताउँनुहुन्छ ।

‘उहाँले खेलाडीसँगै खेल प्रशासकको रूपमा नेपाली खेलकुदमा योगदान पुर्‍याउनुभयो । शाहीकालको संक्रमणपूर्ण समयमा सदस्यसचिव बन्दा उहाँले नेपाली खेलकुदलाई चलायमान बनाइराख्नुभएको थियो,’ श्रेष्ठले भन्नुभयो, ‘नेपाली ब्याड्मिन्टनले उहाँको निधनले ठूलो क्षति व्यहोरेको त छ नै यो समग्र खेलकुदका लागि पनि अपुरणीय क्षति हो ।’

त्यसबेला ब्याडमिन्टन नेपालको नम्बर एक खेलजस्तै थियो । देशमा लगातार च्याम्पियन बन्नुभएका सिंहले सन् १९७० मा बैंककमा भएको एसियाली खेलकुदमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभयो । एसियाली खेलकुदमा ब्याडमिन्टनले सहभागिता जनाएको त्यो नै पहिलोपल्ट थियो । सोहीकारण पहिलो एसियाली खेलकुद खेल्ने नेपाली ब्याटमिन्टन खेलाडीको इतिहास पनि सिंहका नाममा छ ।

श्रेष्ठका अनुसार सिंह सरल स्वभावका सबैसँग मिलनसार हुनुहुन्थ्यो । खेलकुद बुझेकाले उहाँले खेलकुदका समस्याहरू पनि बुझनुभएको थियो । खेल संघहरू सक्रिय नभएसम्म खेलकुदको विकास हुनसक्दैन भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । सोहीकारण तदर्थ हैसियतमा रहेका राष्ट्रिय संघहरूलाई उहाँले साधारणसभामार्फत नेतृत्व चयन गराउनुभयो । त्यसबेला १५ वटा राष्ट्रिय खेल संघको निर्वाचन भएको श्रेष्ठ बताउँछन् ।

२०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि सिंहलाई राखेपको सदस्यसचिव नियुक्त गर्नुभएको थियो । शाही परिवारको नातेदार भएपनि सिंहमा त्यो दम्भ कहिले भएन । उहाँ सदैव सबैसँग सजिलै भेट्ने, विस्तारै बोल्ने र अरुका कुरा सुन्ने नम्र व्यवहारको हुनुहुन्थ्यो । उहाँको कार्यकालमा आर्थिक अनियमितताको कुरासमेत उठेन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वसदस्य–सचिव किशोरबहादुर सिंहको निधनको खबरले सिंगो खेल जगतका साथै राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुःखी तुल्याएको जनाएको छ । राखेपले एक विज्ञप्ति जारी गर्दै सिंहको योगदान प्रशंसनीय रहेको बताएको छ ।

‘नेपाली खेलकुदको विकास र विस्तारमा स्व.सिंहको योगदान प्रशंसनीय छ,’ राखेपले विज्ञप्तिमार्फत जनाएको छ, ‘सिंहको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ सिंहका एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँ अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?