काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा आउनुभएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो समयदेखि लण्डनमा बस्दै आउनुभएका शाहीले त्यहीँबाट चलचित्र मेकिङमा ग्र्याजुयट गर्नुभएको छ । त्यहाँ केही सर्ट फिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसक्नुभएका शाही यतिबेला आफूलाई नेपाली चलचित्र उद्योगमा स्थापित गर्न खोज्दै हुनुहुन्छ ।
अहिले पनि धेरै नेपाली कलाकार एवं निर्देशकहरूको रोजाइमा लण्डन पर्दै आएको छ । तर, लामो समय लण्डनमै बिताउनुभएका शाही नेपाल आएर नेपाली चलचित्र निर्देशनमा सक्रिय हुन खोजिरहनुभएको छ । उहाँ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्य बोकेर आफूले काम गरिरहेको बताउनुहुन्छ । पहिलो चलचित्र ‘गोर्खाः विनिथ द ब्रेभरी’ लण्डनमा विशेष प्रदर्शन गरिए पनि दोस्रो चलचित्र ‘अन्तिम संस्कार’ भने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरूको पहिलो प्रयास रहने निर्देशक शाहीले जानकारी गराउनुभयो ।
‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने रहन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि मात्रै चलचित्र हलमा रिलिज हुनेछ ।’ ‘अन्तिम संस्कार’को अर्थ मानिसको मृत्युपश्चात् गरिने संस्कार हो । निर्देशक शाहीका अनुसार चलचित्रमा ‘मर्डर मिसयुज’को कथालाई समावेश गरिएको छ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आइरहेका भन्दा फरक खालको चलचित्र निर्माण गर्ने प्रयास गरिएको उहाँको दाबी छ । उहाँ आफू र आफ्नो टिमले निकै मिहिनेत गरेको बताउँदै चलचित्र हेरेपछि दर्शकहरू ‘यो नेपाली र नेपाली टिमले बनाएको चलचित्र हो ?’ भनेर आश्चर्यमा पर्नेसमेत दाबी गर्नुहुन्छ ।
‘नेपालमा धेरै ट्यालेन्ट फिल्म मेकरहरू हुनुहुन्छ । कथा राम्रो छ, पर्फमेन्स राम्रो छ । लोकेशन नेपाली छ भने हामीले आफ्नै मौलिक कथा निकाल्न सक्दा रहेछौँ भन्ने फिल हुन्छ जस्तो लाग्छ,’ उहाँ भन्नुहुन्छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन र चिनाउन निर्माता एवं निर्देशकहरू प्रयासरत हुनुपर्ने उहाँ बताउनुहुन्छ । आफू त्यही प्रयासमा लागिरहेको उहाँको भनाइ छ । यतिबेला लण्डनमै पोष्ट प्रोडक्सनको काम भइरहेको ‘अन्तिम संस्कार’को लगानी झण्डै दुई करोड पुग्ने अनुमान छ । विनोद सुवेदी खत्री (टाटेमित) को निर्माण रहेको चलचित्रमा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेतीलगायतका कलाकारहरूको अभिनय छ । निर्देशक शाही ‘अन्तिम संस्कार’पश्चात् ‘गोर्खाः विनिथ द ब्रेभरी २’ निर्माणको तयारीमा लाग्ने बताउनुहुन्छ । यो चलचित्र भने कमर्शियल हिसाबले निर्माण हुने उहाँको भनाइ छ ।