काठमाडौं । ऊर्जा उत्पादकले नयाँ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता(पिपिए) खुलाउन माग गरेका छन् । उनीहरूले ऊर्जा सचिव दिनेश घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै पिपिए खुलाउन माग गरेका हुन् । गत असार १४ गते मन्त्रिपरिषद् बैठकले जलप्रवाही आयोजनाका लागि करिब १५ सय मेगावाट पिपिए खुला गरे पनि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि नबढाएको भन्दै स्वतन्त्र उत्पादकहरूको संस्था इपानले शुक्रबार ऊर्जा सचिवको ध्यानाकर्षण गराएको होे । इपान प्रतिनिधि मण्डलका कार्यवाहक अध्यक्ष गणेश कार्कीले विद्युत् प्राधिकरणले हालसम्म पिपिएको प्रक्रिया सुरु नगरेर मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाइ गर्नुका साथै ऊर्जा क्षेत्रमा अन्योलताको अवस्था सिर्जना गरेको भन्दै १५ सय मेगावाटको तत्काल पिपिए खुला गर्न मन्त्रालयले आवश्यक निर्देशन दिनुपर्ने बताउनुभयो ।
इपानले पिपिएका अतिरिक्त प्राधिकरणले वर्षायाममा विभिन्न बहानाबाजी गरेर विभिन्न आयोजनाको विद्युत् खरिद नगरिदिएको आरोप पनि लगाएका छन् । प्राधिकरणको भारप्रेषण केन्द्रले लोड खपत नभएको बहानामा गत असारदेखि विभिन्न करिडोरका करिब तीन दर्जन आयोजनाको पूर्वसूचनाबिना दैनिक पटक-पटक विद्युत् गृह पूर्ण तथा आंशिक बन्द गर्न लगाउने गरेको इपानको भनाइ छ । विद्युत् खरिद नगरिदिँदा आयोजना टाट पल्टने अवस्थामा पुगेको र बैंकको ब्याज डबल डिजिटमा वृद्धि भएको इपानको ज्ञापनपत्रमा उल्लेख छ ।
कार्कीले समस्या समाधानका लागि तत्काल पिपिएका लागि प्राधिकरणमा पहल गरिदिन पनि सचिव घिमिरेलाई आग्रह गर्नुभयो ।
त्यसैगरी कोरोना महामारीका कारण समयमा काम अघि बढाउन नसकेका आयोजनाको अनुमतिपत्रको म्याद बढीमा दुई वर्ष थपको व्यवस्था कार्यान्वयनमा ल्याउन पाँच वर्ष पुगेका विद्युत् उत्पादनका सर्वे लाइसेन्स अध्ययन अवधि, विद्युत् उत्पादनको अनुमतिपत्रमा वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्न, अब बन्ने आयोजना क्यु २५ डिजाइनमा निर्माण गर्ने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको