काठमाडौं । नेपाली कांग्रेसमा उमेरमा सबैभन्दा पाका रामचन्द्र पौडेलको सपना प्रधानमन्त्री पदबाहेक अब केही बाँकी छैन । सम्पन्न निर्वाचनमा समेत उहाँले तनहुँका जनतासामु आफू अब प्रधानमन्त्री बन्न निर्वाचनको प्रतिस्पर्धा गरिरहेको विश्वास दिने प्रयास गरिरहनु भएको थियो । ०४८ को निर्वाचनदेखि नै उहाँको सपना प्रधानमन्त्री पद नै भएको छ । सभामुख हुनुभयो, उप्रधानमन्त्री हुनुभयो, पार्टीको उपसभापति र कार्यवाहक सभापति हुनुभयो तैपनि उहाँको सपनाले प्रतिक्षण प्रधानमन्त्री पदबाहेक अरू केही देखिरहेको छैन । निरन्तर ३२ वर्षको सत्तायात्राको अन्तिम उत्कर्ष यो पद उहाँका लागि असम्भव हुँदै आएको छ । प्रतिनिधिसभामा १७ पटकसम्म निर्वाचन लड्दासमेत ०६६ सालको राजनीतिक परिघटनाले उहाँलाई सफल हुन दिएन । उहाँको विश्वास यसरी त्यस समय भत्किनु सामान्य नभएर नै होला १५ वर्षपछि पनि उहाँको सपनाले प्रतिदिन, प्रतिक्षण उहाँलाई सम्झाउने काम गरिरहेको छ ।
उहाँको समकालीन देउवाको ललाटमा पाँच पटकसम्म प्रधानमन्त्री पद लेखिनु तर पौडेलका लागि एकपटक पनि नलेखिनु दुःखद हुन सक्ला । तर, समयको जोड घटाउले अहिले पनि उहाँलाई त्यो पदको शिखर मिल्ने सम्भावना देखिँदैन । नेपाली कांग्रेसभित्र स्वार्थरहित, अहंकारविहीन, निरंकुश महŒवाकांक्षहीन भएर न्याय र विवेकको वाणी र व्यवहार सत्ता खेलमा मरिसकेको छ । वर्तमानमा नयाँ पुस्ताका नाममा देखिएको अहंकारजन्य आकांक्षा त्यही अन्याय र अविवेकले रोपेको विषवृक्षको फलबाहेक केही पनि होइन । स्वयम् रामचन्द्र पौडेलले पनि विगत ३२ वर्षको सत्तायात्रालाई फर्केर हेर्नुभयो भने सत्यबोध गर्नुहुने छ होला । आफू कति न्यायी, निःस्वार्थी र विवेकी हुनुहुन्छ आत्म समीक्षामा थाहा पाउनु हुनेछ । यो फरक विषय हो । अहिलेका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपयुक्त जिम्मेदारी कस्तो र कुन हुनुपर्ने विमर्श यसमा हुनु आवश्यक छ ।
आवश्यकता परे म संसदीय दलमा समेत चुनाव लड्नेछु, यतिखेर रामचन्द्र पौडेल भनिरहनुभएको छ । लड्नु र विजयी हुनुमा अत्यन्त ठूलो अन्तर छ । उहाँभन्दा आधा उमेर कान्छाहरू मध्ये केहीलाई कांग्रेस समर्थक र कतिपय कांग्रेसजनले समेत ब्रम्हा, विष्णु र महेश्वरको संयुक्त अवतारका रूपमा चित्रण गरिरहेको अवस्था छ । अवतारवादी साहित्यले समेत सत्य युगबाहेक अरू सबै युगका अवतार नायकहरू राजा र क्षत्रीयहरूलाई नै बनाएको छ । त्रेतामा राम, द्ववापरमा कृष्ण, कलीमा सिद्धार्थ गौतम र बाँकी विगतमा यस भूखण्डका सबै राजाहरू क्षत्रीय वंशका नै भएको उल्लेख गरेको छ । सायद यो अवतरवादी चिन्तन अहिले नेपालको र खासगरी नेपाली कांग्रेसमा व्यापक विस्तारित छ । शेरबहादुर देउवाको विकल्पका रूपमा नयाँ अनुहार र नवीन अवतार स्थापना गर्ने प्रयास संयोग होइन भने त्यही चिन्तन प्रेरित हो भन्न सकिन्छ । नवीन अवतारको बृहत् प्रचार छायामा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र डा. शशांक कोइरालाहरूका समेत सपना आफैँ हराई रहेको अवस्था छ ।
अहिलेभन्दा करिब ५० वर्ष पहिले ०२७, ०२८ सालतिर रत्नपार्कमा घरेलु औषधि बेच्ने चटकेहरूका सामु घाम ताप्नेहरूको आश्चर्य लाग्दो झुण्ड हुने गर्दथ्यो । हामी साना ६/सात कक्षाका विद्यार्थीहरू विद्यालयमा छुट्टी हुनासाथ चटकेको चमत्कारपूर्ण कुरा सुन्न पुग्थ्यौँ । चटकेले यौटा रातो झोल भएको सानो सिसी देखाउँदै कराउँथे : तपाईंलाई दाँत दुःखेको छ ? तपाईंको हड्डी मकाएको ? तपाईंको नाकमा समस्या छ ? तपाई राम्ररी पिसाव फेर्नसक्नु हुन्न ? तपाईंको घाँटी दुःखिरहेको छ ? तपाईं राम्ररी आँखा देख्नुहुन्न ? बिहान राम्ररी आची गर्न सक्नुहुन्न ? गानोगोला गोटाको समस्या झेलिरहनु भएको छ ? रिंगटा लाग्छ ? जोर्नी दुःख्छ ? हो यी सबै समस्याको अचूक औषधि, रामवाण औषधि यही एक सिसी झोल हो । जे जस्तो रोग भए पनि यसैबाट निको हुन्छ ।
चटके विभिन्न चराहरूको आवाज निकाल्थे । उनको यस्तो अचूक रामवाण औषधिको झोल किन्नेहरू प्राय ठेलागाडा चलाउने, रिक्सा चलाएर जीविका गर्ने, भारी बोक्नेहरू हुने गर्थे । अहिले नेपाली कांग्रेसमा पनि सबै समस्याको यौटै समाधानको खेती चलिरहेको छ । यस्तो समयमा रामचन्द्र पौडेलको अनुभव र योगदानको अर्थ के हुन्छ र ? यसै पनि उहाँले र उहाँ जस्ता धेरैले विगत ३२ वर्षसम्म सत्ता र सत्तावृत्तमा बसेर योगदानको ब्याज, स्याज खाइसक्नु भएको मात्रै होइन शाखा सन्तानका लागिसमेत सञ्चित गरिसक्नु भएको छ । यो देखिरहेका नागरिकहरू उहाँहरूबाट अतिरिक्त योगदानको सम्भावना छ भनिरहेका छैनन् । यस अवस्थामा अब रामचन्द्र पौडेलका लागि अर्को उपयुक्त विकल्पमा सहमति हुनुपर्ने देखिन्छ ।
पाँच दलीय चुनावी गठबन्धन भए पनि भरपर्दो बहुमत मिलेको छैन । साना दलहरूको समर्थन लिनु अनिवार्य छ । यो चुनावी परिणाम सिद्धान्तविहीन गठबन्धनको परिणाम हो । तर, पनि यही चुनावबाट प्रत्यक्ष र समानुपातिकमा विजयी दलहरूलाई जोडेर नै अबको प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट छ । ०६६ मा सहमति हुन नसकेको नाम अब ८० वर्षको वयमा सबैका लागि मान्य हुने स्थिति छैन । यसै पनि पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीले भत्काएको संवैधानिक प्रक्रियालाई ठिक ट्याकमा ल्याउन, अनिवार्य स्थानीय, प्रदेश र संघीय प्रतिनिधिसभाको निर्वाचन गर्न शेरबहादुर देउवा सफल भएको अवस्था छ । जुन लक्ष्यका लागि निर्वाचत भएको हो त्यसमा सफल भएको हुनाले देउवाले संसदीय दलमा आफ्नो दाबी छाड्नुहुन्न । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ८० प्रतिशत सदस्य र पदाधिकारीहरू देउवाको समर्थनमा रहेका छन् र सामान्यतः तत्काल परिवर्तनको सम्भावना छैन । प्रत्यक्षमा विजयीहरू र समानुपातिकमा सूचीकृत सम्भावित नामहरूमा समेत देउवा पक्षको अत्यधिक बहुमत देखिन्छ ।
यसरी हेर्दा नेपाली कांग्रेसमा देउवाको कुनै विकल्प देखिँदैन । यदि देउवाले नै अब उमेर, आफ्नो शारीरिक सक्रियताको मूल्यांकन गर्नुभयो भने मात्रै अर्को विकल्प हुनसक्छ । त्यो विकल्प हेर्ने हो भने पहिलो रामचन्द्र, दोस्रो डा. शेखर, तेस्रोमा प्रकाशमान सिंह, चौथामा विमलेन्द्र निधि र त्यसपछिको लहरमा अरू आउने सम्भावना छ । यो कुनै गणित होइन । यो पंक्तिकारको मत भने फरक छ ।
मेरो विचारमा अहिलेको देखिएको अनिश्चय र संक्रमण काललाई सामना गर्ने हो भने नेपाली कांग्रेस, एमाले मुख्य दलहरूसहित प्रतिनिधिसभामा पुगेका सबै दलहरूको सहभागितामा सरकार गठन हुनु जरुरी छ । जसका कारण पाँच वर्षसम्म जनमुखी र देशका हितमा काम हुन सकोस् । त्यसमा आलोपालो गर्नसके सुनमा सुगन्ध हुनेछ । अकस्मात् आउने कुनै स्वयम् घोषित चटकेहरूबाट सबै रोगको औषधिमा हुने विश्वास आफैँमा भ्रम शिवाय केही होइन ।
पौडेलका लागि उपयुक्त स्थान भनेको राष्ट्रपति पद हो अबका दिनमा । उहाँले पार्टी राजनीति परित्याग गरी संविधानको रक्षक, पालक र सम्पूर्ण राजनीतिको अभिभावक भएर बस्नु उचित हुनेछ । प्रधानमन्त्री र राष्ट्रपति यौटै दलको किन भन्ने प्रश्न गर्नेहरू झलनाथ खनाल वा माधवकुमार नेपाल वा अरू स्वतन्त्र व्यक्तिहरूको माग गर्न सक्छन् । कुनै स्वतन्त्र राष्ट्रिय व्यक्तित्व भएमा त्यो सुखद हो राष्ट्रपति पदको गरिमाका लागि । तर, त्यस्तो देखिँदैन । समाजवादीका नेता झलनाथ खनालजीले इलाममा निर्वाचनमा पराजित भएपछि प्रयोग गर्नुभएका अत्यन्त गैरराजनीतिक शब्द र देखाउनुभएको व्यवहारले उहाँ राष्ट्रपति पदका लागि योग्य देखिनुभएन । माधव नेपालको आकांक्षा प्रधानमन्त्रीमा नै होला । यदि सहमतिका साथ सबै दलको सरकार हुने हो भने, पहिले नेपाली कांग्रेस, अनि माओवादी, त्यसपछि एमाले र अन्तिममा निर्वाचन गराउने सरकारको नेतृत्व माधवकुमार नेपाललाई जिम्मा दिएमा संसद्को पाँच वर्षे कार्यकाल सफल हुने थियो ।
रामचन्द्र पौडेलले संसदीय दलमा प्रतिस्पर्धा गर्नुभन्दा उहाँले राष्ट्रपतीय जिम्मेदारीका लागि पहल गर्नु समयको माग हो । नयाँ पुरानो पुस्ताको विभाजनको सानो धर्सोमा छिरेर नेतृत्वको सम्भावना खोज्नु निरर्थक हुनेछ । यसै पनि नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा पौडेलको भूमिकाको चर्चा अहिले पनि सेलाइसकेको छैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका