हामीले ‘डू एण्ड डाई’को स्थितिमा काम गर्नुपर्ने अवस्था छ : सिके राउत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाईचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताउनु भएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नु भयो ।

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरुको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताउनु भयो ।

अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढि सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उहाँको भनाई थियो ।

अध्यक्ष राउतले भन्नु भयो, ‘हामीले जुन सपना देखेका थियौं । हामीले सपना देख्यौं देशको समृद्धिको, समानताको, भाईचाराको । त्यसलाई आगामी दिनमा हामी पूरा गर्न प्रतिवद्ध रहनेछौं । आफ्ना एजेण्डाहरुप्रति इमान्दार रहनेछौं । र, त्यही अनुरुप काम गर्नेछौं भनेर भन्न चाहन्छु । र, आगामी दिनमा तपाईहरुले मलाई यहाँसम्म पु-याई दिनु भयो । तपाईहरुको पनि काम सिद्धियो भनेर होइन । यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईहरुको सहयोग झन बढि चाहिन्छ । अव काम गर्ने बेला आयो । काम गर्ने ठाउँमा पुग्यौं । यतिबेला तपाईहरुको सहयोग झन बढि हामीलाई चाहिन्छ । तपाईहरु जुनसुकै वर्गको हुनुहोस् । विद्यार्थी हुनुहोस्, कर्मचारी हुनुहोस् । अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ । व्यवसायी हुनुहुन्छ । जुनसुकै वर्गबाट हुनुहुन्छ । तपाईहरुको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ । हामीले जुन एजेण्डा लिएर अगाडि बढेका छौं, जुन सपना देखेका छौं ।'

उहाँले भन्नुभयाे , 'जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ । तपाईहरुले पनि बुझ्नु हुन्छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । '

उहाँले भन्नुभयाे , 'हाम्रो पनि मनस्थिति डू एण्ड डाईको मनस्थितिबाट काम गर्ने हुनुपर्दछ । त्यही भएर म तपाईहरुसँग पनि आग्रह गर्न चाहन्छु–तपाईहरु जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईलाई सहयोग गर्न जहिले पनि राति पनि आउन सक्छौं । दिउँसो पनि आउन सक्छौं । जतिबेला पनि आउन सक्छौं । तर यो तपाईहरुको सहयोगले नै सम्भव हुनेछ । जनताले जुन अपेक्षा राखेका छन् । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा हुने होइन । हामी सबै मिलेर जुन सपना हामीले बन्यौं । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौं । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिईराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईहरु एकदम निर्धक्क भएर मलाई रो्क्नुहोस् । किनभने मलाई बनाएको. नै तपाईहरुले हो ।’

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढने पनि पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?