मरिणका १०३ घरमा खानेपानीको धारा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका–३ चनौटेबासीको घरघरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका १०३ घरमा खानेपानीको सुविधा भएको हो ।

बर्षौदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेबासी घरघरमा यसै सातादेखि खानेपानीको धारा विस्तार भएपछि खुशीले दंग छन् । उपभोक्ता तथा स्थानीयबासी बिमला तमाङले अहिले घरको चुल्होमा नै खानेपानी पुगेको महशुस भएको बताउनुभयो । ‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौं । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो,’ उहाँले भन्नुभयो, “अहिले बर्षौदेखिको खानेपानीको प्यास मेटिएको छ ।’’

आफैँलाई पिउन, गाईबस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी लगाउन समेत सहज भएको उहाँले सुनाउनुभयो ।
मरिण गाँउपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घरघरमा पुगेको हो । २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माण कार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो ।
६२ लाख १८ हजार ८६८ रूपैयाँ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वस्च्छ खानेपानी सुविधाबाट उपलब्ध भएको गाँउपालिका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मरिण खोला नजिकै रहेको ईनारबाट पाँच सय मिटर माथि डाँडाँमा चार वटा पानी ट्याङकी बनाइएको छ । त्यहीबाट घरघरमा खानेपानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको ईनारबाट डाँडामा रहेको ट्याङकिमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाँउपालिकाले तिरिदिने उहाँले बताउनुभयो ।

‘निःशुल्क खानेपानी हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो, ‘त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ ।’
उक्त खानेपानीको आयोजना धेरै मिहेनत र लागतमा निर्माण भएको उहाँले स्मरण समेत गर्नुभयो । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफँै सचेत रहनु पर्नेमा उहाँको जोड छ ।
वडा अध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाँउका बासिन्दामात्रै नभई गाँउमा रहेको सरकारी स्कूलमा पढ्ने अढाई सय विद्यार्थी समेत लाभान्वीत भएका सुनाउनुभयो ।

गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटकपटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घरघरमा खानेपानीको धारा पुर्याउन सफल भएको उहाँको भनाई छ ।

उहाँकाअनुसार पहिले यहाँका स्थानीयबासिलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी संकलन गर्न दुई घण्टा खर्चिनु पर्दथ्यो । अहिले घरघरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरि गृहणी महिलालाई सहज र सुख भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?