पारा तेक्वान्दो टोली रियाद प्रस्थान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । के-४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा इन्टरनेसनल लेभल-२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहनुभएको छ ।

पेरिस पारा ओलम्पिकका लागि र्‍याङकिङ प्रतियोगितासमेत भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १०औँ र सिर्जना १४औँ स्थानमा रहनुभएको छ । प्रशिक्षक लामाका अनुसार आफ्नो तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडीले पेरिस पारा ओलम्पिकमा सिधै खेल्न पाउने प्रावधान छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले तीन तथा सिर्जनाले दुई पदक जित्नुभएको छ । प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताउनुभयो । प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिनेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ ।

यस्तै, आठौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इण्डोनेसियाको वेन्टेम प्रस्थान गरेको छ । डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक/एक पुरुष/महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष नान छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला छाङ छ्वान, चेन सु र छियान्सुमा अलिशा खातीले कौशल प्रस्तुत गर्नुहुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव अञ्जन धमला, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पा छिरिङ शेर्पालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?