समूह चरणको अन्तिम दिन अप्रत्याशित नतिजा

हिमालय टाइम्स
Read Time = 7 mins

दोहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शुक्रबार राती भएका समूह चरणको अन्तिम खेलमा अप्रत्याशित नतिजाहरू आएका छन् । उपाधि दाबेदार मानिएको ब्राजिल र पोर्चुगलले अन्तिम खेलमा हार बेहोरेका छन् । हारका बाबजुद दुवै टोलीले अन्तिम १६ मा पुगेका छन् । समूह ‘जी’को अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तरले स्तब्ध बन्यो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले हेडर गोल गर्दै क्यामरुनका लागि निर्णायक गोल गर्नुभयो । लगत्तै दोस्रो पहेँलो कार्ड पाउँदै भिन्सेन्टले मैदान छोड्नुपरेको थियो । तर, जितका बाबजुद क्यामरुन अन्तिम १६ मा पुग्न भने असफल रहृयो ।

त्यसअघि पनि क्यामरुनका ब्रायन एम्युमीले इडर्सनको सशक्त प्रहार जोगाउनुभएको थियो । पहिलो दुई खेलमा लगातार जित हात पार्दै अन्तिम १६ मा स्थान बनाइसकेको ब्राजिलको टोलीमा प्रशिक्षक टिटेले १० खेलाडी परिवर्तन गर्नुभएको थियो । अधिकांश पहिलो रोजाइका खेलाडीलाई आराम दिइएको खेलमा ब्राजिलले क्यानरुनविरुद्ध हार बेहोरेको हो ।

पराजयका बाबजुद पनि समूहको पहिलो दुई खेलमा सर्बिया र स्वीट्जरल्याण्डलाई पराजित गरेको ब्राजिल समूह विजेताका रूपमा यथावत रहृयो । क्यामरुनले पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध हार बेहोरे पनि दोस्रो हाफमा सर्बियासँग बराबरी खेलेको थियो ।

यस्तै, यसै समूहको अर्को खेलमा स्वीजरल्याण्डले सर्बियालाई तीन-दुई गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीट्जरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो भने सर्बियाका लागि एलेक्जेन्डर मितरोभिकले २६औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

३५औँ मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै दुई-एक गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीट्जरल्याण्डका लागि खेलको ४८औँ मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औँ र ४८औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीट्जरल्याण्ड जितसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

यता, समूह ‘एच’मा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरे । कतारको एजुकेसन सिटी स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पोर्चुगललाई दुई-एक गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । पोर्चुगललाई हारले त्यति फरक परेन । उसले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको थियो । यस खेलसँगै पोर्चुगल समूह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे ।

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयो । त्यस्तै, खेलको २७औँ मिनेटमा कोरियाका किम योङ जिओनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभएको थियो । पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जित सुनिश्चित गर्‍यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा हृवाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि दुई-एकको जित निकाल्यो ।

यसैबीच शुक्रबार नै भएको समूह ‘एच’को अर्को खेलमा उरुग्वेले घानालाई दुई-शून्य गोलअन्तरले विजयी भएको छ । घानाले खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर, कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाउनुभयो । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।

त्यस्तै, उरुग्वेले खेलको २६औँ मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गर्नुभयो । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गर्नुभयो ।

यससँगै समूह ‘एच’बाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै, यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अंक जोड्दै समूहको पहिलो स्थानमा रहृयो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले चार-चार अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भए पनि बढी गोल गरेका आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले चार गोल गर्दा उरुग्वेले दुई गोल गरेको थियो । घानाले ३ अंक जोड्दै चौथो स्थानमा रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?