छन्दसाधना पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । छन्दसाधना पुरस्कारबाट रामचन्द्र भट्टराई र सुदेश सत्याल पुरस्कृत हुनुभएको छ । छन्द-तरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट यो बर्ष उहाँहरूलाई पुरस्कृत गरेको हो ।

कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द-तरङ्गले २०७६ देखि हरेक वर्ष २५ हजार नगदसहितको विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षदेखि १५ हजार नगदसहितको छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा.डा. माधव पोखरेलले वरिष्ठ कवि रामचन्द्र भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार-२०७९’ र युवाकवि सुदेश सत्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार-२०७९’ बाट पुरस्कृत गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कवि भट्टराईले आफ्ना कवितामा नेपाली जनताको बोली बोलेर र युवाकवि सत्यालले वर्तमान युगको र युवाहरूको आवाज सम्प्रेषण गरेर दुवै स्रष्टाहरूले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत ८२ वर्षीय वरिष्ठ कवि रामचन्द्र भट्टराईले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभयो ।

यस्तै ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत २८ वर्षीय युवाकवि सुदेश सत्यालले आजका दिनबाट आफूमा गम्भीर चुनौती थपिएको हुनाले सकेसम्म छन्दकविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री शान्ता मानवीले कवि रामचन्द्र भट्टराईको पाँच दशक अगाडिको सङ्घर्षशील जीवनसँग जोडिएका संस्मरणहरू प्रस्तुत गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?