इरानमा बढ्दै हिजाबविरोधी आन्दोलन

Read Time = 3 mins

तेहरान । इरानको रूढिवादी क्षेत्र सिस्तान-बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा एक्यबद्धता जनाएका छन् । महिलाहरूले ‘नारी, जीवन, स्वतन्त्रता’ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । पछि उहाँको हिरासतमै मृत्यु भएको थियो ।

प्रदर्शनमा ४ सयभन्दा बढीको मृत्यु
अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि इरानभर सुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा ४४८ जना मारिएका छन् । विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानवअधिकार समूहलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ ।

नर्वेको इरान मानवअधिकार समूहका अनुसार मारिएका ४४८ जनामध्ये ६० जना १८ वर्षमुनिका नाबालिग छन् । अठार वर्षमुनिका नौजना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । समूहको प्रतिवेदन अनुसार गत सातामात्र सुरक्षाकर्मीले १६ जनालाई मारेको थियो । मारिएकामध्ये १२ जना कुर्दिस जनसंख्या अधिक भएको इलाकाका हुन् । ती इलाकामा अहिले पनि हिंसात्मक प्रदर्शन जारी छन् । दोहोरो झडपमा मारिएका नागरिकको संख्यामात्र प्रतिवेदनमा समावेश गरिएको तथा त्यसमा सुरक्षाकर्मीको हताहती समावेश गरिएको छैन ।

इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सका ब्रिगेडियर जनरल अमीराली हज्जिजादेहले विरोधप्रदर्शनका क्रममा तीन सयजना मारिएका बताएका छन् । सरकारीस्तरमा पहिलोपटक हताहतीको विवरण सार्वजनिक भएको पनि अरब न्यूजले जनाएको छ ।

उपयुक्त ढंगले टाउको नछोपेको अभियोगमा गत भदौ ३१ गते पक्राउ पर्नुभएकी अमिनीको केही दिनपछि हिरासतमा मृत्यु भएको थियो । उहाँको हिरासतमा मृत्यु भएको खबर सार्वजनिक भएपछि इरानमा विरोध प्रदर्शन भड्किएको छ । धार्मिक प्रहरीले उहाँलाई यातना दिएर मारेको आरोप प्रदर्शनकारीले लगाएका छन् । यद्यपि इरान सरकारले त्यसको खण्डन गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?