मनोरञ्जन उद्योग प्रवद्र्धनका लागि सहकार्यमा जोड

Read Time = 6 mins

काठमाडौं । मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा दुईदिने छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । एसबी सर्भिसेस, मिडिया इन्टरटेनमेन्ट स्किल काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘राउण्ड टेबल डिस्कसन अन एकेडेमिया इन्डष्ट्री एलायन्स इन मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न विज्ञले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामबारेमा चर्चा गरेका थिए । बलिउड डाइरेक्टर पद्यश्री रमेश सिप्पीले कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र भारत समान धर्म संस्कृति भएका देश हुन् । हामी दुवै देशका भावना तथा कथा समेट्ने गरी काम गर्न सक्छौँ । म यसपटक नेपाल आउँदा जति सोचेको थिएँ त्योभन्दा बढी उपलब्धि भएको महसुस गरेको छु ।’

दुवै देश सांस्कृतिकरूपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सकेमा मिडिया र इन्टरटेनमेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एण्ड इन्टरटेनमेन्ट स्किल काउन्सिल प्रमुख कार्यकारी अधिकृत मोहित सोनीले बताउनुभयो भने शैक्षिक क्षेत्रबाट सञ्चार र मनोरञ्जन क्षेत्रमा धेरै प्रगति गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आइटी सेन्टरका निर्देशक सुवर्ण शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दक्ष जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ । यो क्षेत्रका सबै विज्ञ तथा उद्योगीलाई विश्वविद्यालयमा इन्क्युबेशन सेन्टर स्थापना गर्न म हरसम्भव प्रयास गर्छु । यसका लागि पिपिपी मोडल राम्रो हुन्छ ।’ आफूहरूले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगलाई प्रविधिमा जोड्न चाहेको आइएमएसके डटनेटका संस्थापक जय नरेशले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महत्वपूर्ण सम्भावनाका कारण आज सबैले मेटाभर्सबारेमा कुरा गरिरहेका छन् । यो ट्रिलियन डलरको उद्योग हो । मेटाभर्समा काम गरेका साना कम्पनीको पनि बिलियन डलरको मूल्य छ ।’ आफूहरूले नेपालका स्टुडियोबाट आउटसोर्सिङ गर्न चाहेको र नेपालका स्टुडियोसँग सहकार्य गर्न पाउँदा धेरै खुशी लागेकोे टुल्ज एनिमेसन इण्डिया प्रालिका कार्यकारी निर्देशक शशी कुमारले बताउनुभयो । पछिल्लो समय नेपालमा एनिमेसन र भिएफएक्स प्रयोग धेरै बढिरहेकाले अवसर पनि धेरै रहेको सह–संस्थापक हाइब्रिड ३६० आर्ट टेक प्रालिका निर्देशक जि बालचन्द्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यी काम नेपालबाट आउट सोर्सिङ गर्न सक्छौँ । जसबाट नेपालमा राम्रो वैदेशिक लगानी भिœयाउन सकिन्छ । यहाँ युवा संंख्या ४० प्रतिशत र साक्षरता दर ६७ प्रतिशतभन्दा धेरै भएकाले नेपालमा यसको सम्भावना धेरै छ ।’ भारत पहिले नै एआर र भिआरको हब बनिसकेको र नेपालमा पनि यसको प्रचुर सम्भावना भएको प्रिसाइजका प्रमुख कार्यकारी अधिकृत सरथ कुमारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा तुलनात्मकरूपमा कम लागत हुने भएकाले राम्रो सम्भावना देखिएको हो । हामीले अहिलेदेखि नै विद्यार्थीका लागि इन्क्युबेसन सेन्टर स्थापना गरेर सिक्ने र कमाउने वातावरण बनाउन सक्छौँ ।’

नेपालको फिल्मी क्षेत्र विकासका लागि छलफल निकै महत्वपूर्ण साबित हुने चलचित्र निर्माता तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य आकाश अधिकारीले बताउनुभयो भने एआर भिआरले नेपालको पर्यटन क्षेत्रमा धेरै परिर्वतन ल्याउन सक्ने महासंघ सदस्य ज्योत्स्ना श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, मिडिया एण्ड इन्टरटेनमेन्ट स्किल काउन्सिल भारतका प्रमुख कार्यकारी अधिकारी मोहित सोनी, पूर्वमन्त्री गणेश साह, अभिनेत्री किरण जटेजा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायतको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?