यस वर्ष रेमिट्यान्स ३.६ प्रतिशतले बढ्न सक्ने

Read Time = 4 mins

काठमाडौं । विश्व बैंकले सन् २०२२ मा नेपालको रेमिट्यान्स आप्रवाह ३.६ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एण्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालमा आठ अर्ब २० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो ।

नेपालले रेमिट्यान्समार्फत् आउने रकम मुद्दती निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरूपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने व्यवस्था लागू गरेका कारण रेमिट्यान्स बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भिœयाउने मुलुकमा नेपाल अग्रस्थानमा छ । नेपालमा सन् २०२२ मा कुल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स भित्रिने र विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर ४.९ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । सन् २०२१ मा विश्वभर पछिल्लो एक दशकयताकै उच्च रेमिट्यान्स भित्रिएको थियो । सन् २०२० को तुलनामा सन् २०२१ मा १०.२ प्रतिशतले रेमिट्यान्स प्रवाह बढेको हो । कोरोना, रुस-युक्रेन युद्ध, विश्वभर देखिएको मूल्यवृद्धिलगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको प्रतिवेदनले आंैल्याएको छ । सन् २०२२ मा दक्षिण एशिया क्षेत्रको रेमिट्यान्स प्राप्ति ३.५ प्रतिशतले बढ्ने अनुमान छ, जुन गत वर्षभन्दा न्यून हो । गत वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर ६.७ प्रतिशत बराबर थियो ।

सन् २०२३ मा भने विश्व रेमिट्यान्स वृद्धिदर दुई प्रतिशतमा सीमित हुने बताइएको छ । यस वर्ष दक्षिण एशियामा मात्रै एक खर्ब ६३ अर्ब अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिने विश्व बैंकको अनुमान छ । जनसंख्याको अनुपातमा आप्रवासी कामदार पठाउने दक्षिण एशियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ । अफगानिस्तानले १३.५, श्रीलंकाले ८.८ र नेपालले आठ प्रतिशत आप्रवासी कामदार पठाएको छ भने भुटान ६.५, बंगलादेशमा ४.८, पाकिस्तानमा तीन र भारतमा १.३ जनसंख्या आप्रवासी कामदारका रूपमा रहेका छन् । मेक्सिकोले ६० अर्ब डलर, चीनले ५१ अर्ब डलर, फिलिपिन्सले २८ अर्ब डलर, अरब रिपब्लिकले ३२ अर्ब डलर, पाकिस्तानले २९ अर्ब डलर, बंगलादेशले २१ अर्ब डलर र नाइजेरियाले २१ अर्ब डलर रेमिट्यान्स भित्र्याउने विश्व बैंकको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?