बजेट प्रभावकारी कार्यान्वयनका लागि ‘बजेट वाच’

Read Time = 7 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादका रूपमा ‘बजेट वाच’ सुरु गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहआयोजना तथा पायोनियर ल फर्मको बौद्धिक साझेदारीमा ‘सिएनआई बजेट वाच’ सुरु गरेकोे हो । सरकारले ल्याएको वार्षिक बजेट प्रभावकारी कार्यान्वयनमार्फत् लिइएका लक्ष्य हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ पहल सुरु गरिएको सिएनआईले जनाएको छ ।

सो अवसरमा मुख्यसचिव डा. शंकरदास वैरागीले उद्योग क्षेत्रको विकास नभएसम्म देशको विकास नहुनेमा सरकार सचेत रहेको भन्दै पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नीतिगत सुधार गर्न कहाँ हस्तक्षेप गर्नुपर्छ, त्यहाँ निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेका छौँ, सरकारले लिएका योजना तथा कार्यक्रम सुधार सही दिशामा छ कि छैन, ठीक मार्गमा छ कि छैन भन्नेमा इमानदारीसाथ हेर्नुपर्छ ।’

अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै उहाँले अर्थतन्त्र सुधारका लागि आत्मविश्वास बढाउनुपर्ने बताउनुभयो । बजेट कार्यान्वयनका विषयमा पहिलोपटक निजी क्षेत्रतर्फबाट सिएनआईले सुरु गरेको पहलका लागि धन्यवाद दिँदै उहाँले आगामी छलफल निजी क्षेत्रसँगै सिंहदरबारमा हुने बताउनुभयो ।

सरकारले ल्याएको वार्षिक बजेट प्रभावकारी कार्यान्वयनमार्फत् लिइएका लक्ष्य हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ पहल सुरु गरिएको सिएनआईले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटमा उद्योग व्यवसाय, विकास निर्माणसँग सम्बन्धित औद्योगिक विकास, भूमि, नवप्रवर्तन, प्रत्यक्ष वैदेशिक लगानी, औद्योगिक क्षेत्र व्यवस्थापन, मेक इन नेपालः स्वदेशी, ऊर्जा, निर्यात प्रवद्र्धन, कृषि, पूर्वाधार, साना तथा मझौला उद्योग, पर्यटन, सार्वजनिक निजी साझेदारी, सूचना प्रविधिसँग सम्बन्धित ५५ बुँदाका बजेट शीर्षक पहिचान गरिएको छ ।

५५ बुँदालाई नवउद्यम, नवप्रवर्तन र सूचना प्रविधि, पर्यटन, उद्योगः औद्योगिक विकास, औद्योगिक क्षेत्र व्यवस्थापन, साना तथा मझौला उद्योग, लगानीः सार्वजनिक निजी साझेदारी र प्रत्यक्ष वैदेशिक लगानी, ऊर्जा, पूर्वाधारः सडक, हवाई सम्पर्क, कृषि, स्वदेशी उत्पादन, निर्यात प्रवद्र्धन तथा अन्यमा वर्गीकरण गरिएको छ । वर्गीकरण गरिएका विषयवस्तुमा छुट्टाछुट्टैरूपमा गहन छलफल गरिने सिएनआईले जनाएको छ । सुरुवातस्वरूप शुक्रबार नवउद्यम, नवप्रवर्तन र सूचना प्रविधि क्षेत्रका विषयमा छलफल गरिएको थियो ।

सो अवसरमा सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेट राम्रो आउने तर कार्यान्वयन कमजोर हुने गरेको सन्दर्भमा निजी क्षेत्रतर्फबाट पनि बजेटको सफल कार्यान्वयनका लागि पहल सुरु गरेको बताउनुभयो । सिएनआईले दिएका सुझावमध्ये ४० प्रतिशत बढी चालु आर्थिक वर्षको बजेटमा समावेश भएका छन् । बजेटमा समावेश विषय पूर्ण कार्यान्वयन गर्दै मुलुकलाई औद्योगीकरणमा लैजानुपर्ने आवश्यकता रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवाली, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनीलगायतले बजेट कार्यान्वयनको अवस्थाको जानकारी गराउनुभएको थियो ।

सिएनआई उपाध्यक्ष राजेश अग्रवालले सिएनआई बजेट वाच पहल र यसबाट गरिएको अपेक्षाको विषयमा जानकारी गराउनुभएको थियो भने सेजन अध्यक्ष जनार्दन बरालले बजेट वाचमा समावेश गरिएका विषयबारे प्रस्तुति दिनुभएको थियो । सिएनआईका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को बजेटमा निजी क्षेत्रतर्फबाट सिएनआईले दिएका सुझाव समावेश गरेर सिएनआईले उत्साह प्रदान गरेको छ ।

सरकारले बजेटमा स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन सिएनआईले सञ्चालन गरिरहेको मेक इन नेपाल अभियानलाई उच्च प्राथमिकतामा राखेको छ । बजेटमा सार्वजनिक निजी साझेदारीका कार्यक्रम घोषणा भएका छन् । औद्योगिक क्षेत्रको निर्माण एवं सञ्चालन, खनिजजन्य उत्पादन, प्रसारण लाइन, भौतिक पूर्वाधारजस्ता महत्वपूर्ण क्षेत्रमा निजी क्षेत्रको संलग्नता प्रोत्साहित गर्ने नीति लिइएको छ ।
बजेटमा समावेश कतिपय विषय कार्यान्वयनमा आइसकेका छन् र त्यसले अर्थतन्त्रमा योगदान दिन पनि सुरु गरिसकेको छ । सरकारले निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था लागू गरेपछि नेपालको इतिहासमै पहिलोपटक नेपालबाट भारतमा सिमेन्ट, छड निर्यात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?