हलेसी मन्दिरमा साढे सात लाख भेटी संकलन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको त्रि-धार्मिकस्थल हलेसी महादेव मन्दिरमा बाला चतुर्दशीमा साढे सात लाख बढी भेटी संकलन भएको छ । हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्रांगणमा रहेको दान पेटिका, बसाहा दान पेटिका, गणेश मन्दिर दान पेटिका गरी कुल सात लाख ५० हजार ९८५ रुपैयाँ भेटी संकलन भएको हो ।

२०७९ कात्तिक २५ गतेदेखि २०७९ मंसिर १२ गतेसम्म (बाला चतुर्दशीमा)उक्त भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार शिव पार्वती थान दान पेटिकामा पाँच लाख ९४ हजार ४८५ रुपैयाँ, मन्दिर प्राङ्गणमा रहेको दान पेटिकामा ५३ हजार १०५ रुपैयाँ भेटीघाटी संकलन भएको छ । बसाहा दान पेटिकामा ४८ हजार ९४० र गणेश मन्दिर दान पेटिकामा ५४ हजार ४५५ रुपैयाँ भेटी संकलन भएको छ । यस्तै, भारतीय रुपैयाँ १९ हजार ७९०, मलेसियन रिंगेट ११२, कतारी रियाल पाँच, साउदी अरेवियन रियाल एक, तथा चाँदी ७.६१ तोला र सुन ०.१६५ तोला श्रद्धालु भक्तजनले चढाएका छन् ।

संकलित भेटीमा पानी, बिजुली, भेटी गणना, अतिथि खाजा, विभिन्न आर्थिक सहयोगका बिल भरपाई लगायतका खर्च विवरणहरू समावेश भएको छैन । खर्चहरू कटाई जम्मा रहेको भेटीलाई माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिने सूचना केन्द्रका प्रमुख राईले बताउनुभयो ।

मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ । भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सिसी क्यामेरासमेत राखिएको छ ।

संकलन भएको भेटी गणनाका लागि सिसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक/एकजना प्रतिनिधि राखिने गरेको छ । भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरूलाई बैंकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?