लोकप्रिय मतमा एमाले पहिलो

थ्रेसहोल्डको सीमा काट्न नसकेका दलहरू प्रक्रियाबाटै बाहिरिँदै

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९को मत परिणामको नतिजाअनुसार समानुपातिक तर्फको अहिलेसम्मको मतगणनाका आधारमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । नेकपा (एमाले)ले ४४ जिल्ला र ७२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेर लोकप्रियताको आधारमा पहिलो पार्टी बनेको हो । देशभरका ७७ जिल्लामा रहेका १६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनका आधारमा लोकप्रिय मत प्राप्त गर्ने दोस्रो पार्टी भने नेपाली कांग्रेस बनेको छ । नेपाली कांग्रेसले २० जिल्ला र ४८ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक तर्फको जम्मा मतका आधारमा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले भने पाँच जिल्ला भित्रका नौवटा निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेर तेस्रो लोकप्रिय दल बनेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरे पनि निर्वाचन क्षेत्रमा भने माओवादीभन्दा दोब्बर बढी १४ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा सात सिट जितेको जसपाले समानुपातिक मतमा एउटा पनि जिल्लामा पहिलो मत पाएन । जसपाले मधेश प्रदेशका तीन र लुम्बिनी प्रदेशका दुईवटा गरेर पाँचवटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको र समानुपातिकमा पनि पाँचाँै स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशकै एक निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले दुई जिल्लामा सबैभन्दा बढी मत प्राप्त गर्दा चारवटा निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल बनेको छ । एक जिल्ला अर्थात् सप्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको जनमत पार्टीले भने मधेश प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा पहिलो लोकप्रिय मत पाएको छ । एक जिल्ला अर्थात् महोत्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशका दुई र लुम्बिनी प्रदेशको एक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ । एक जिल्ला अर्थात् भक्तपुरमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको नेपाल मजदुर किसान पार्टीले सोही जिल्लाको क्षेत्र नम्बर १ मा सर्वाधिक मत पाएको छ ।

मतगणना भइरहेकामध्ये दोलखामा एमालेले समानुपातिकमा अग्रता लिएको छ भने स्याङ्जा-२ मा कांग्रेसको अग्रता छ । बाजुराको समानुपातिक मतगणना भएको छैन ।

समानुपातिकतर्फ कुन पार्टीको कति मत ?
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ खसेको मतमध्ये एक करोड चार लाख चार हजार ७६६ मत सदर भएको छ । जसको २६.७५ प्रतिशत अर्थात् २७ लाख ८३ हजार ३८७ मत नेकपा (एमाले)ले प्राप्त गरेको छ भने दोस्रोमा सबैभन्दा बढी २५.४९ प्रतिशत अर्थात् २६ लाख ५२ हजार ६२८ मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र)ले ११.१६ प्रतिशत अर्थात् ११ लाख ६१ हजार ८८० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १०.७९ प्रतिशत अर्थात् ११ लाख २३ हजार ७८ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५.६३ प्रतिशत अर्थात् पाँच लाख ८६ हजार २५९ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले ४.०४ प्रतिशत अर्थात् चार लाख २० हजार ९४३ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३.७९ प्रतिशत अर्थात् तीन लाख ९४ हजार ३८५ मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले भने २.८२ प्रतिशत अर्थात् दुई लाख ९४ हजार १०० मत मात्रै प्राप्त गरेको छ । एकीकृत समाजवादीले अहिलेसम्म समानुपातिकतर्फ खसेको मतमध्ये सदर मतको तीन प्रतिशत अर्थात् थ्रेसहोल्ड कटाउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी रहेकाले ती क्षेत्रमा नेकपा एसले बढी मत ल्याउन सके मात्रै थ्रेसहोल्ड कटाउने सम्भावना छ ।

कसरी हुन्छ समानुपातिक तर्फको हिसाब ?
समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ ।

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको तीन प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइन्छ । अहिले प्रतिनिधिसभाको निर्वाचनमा ४७ वटा दलहरूले भाग लिएका छन् । तीन प्रतिशतको अंकलाई थ्रेसहोल्ड अंक निकालेपछि दलहरूले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेसहोल्डको अंकसँग तुलना गरिन्छ ।

यस्तो तुलनामा थ्रेसहोल्डको सीमा पार गरेका दलहरू र सीमा काट्न नसकेका दलहरू विभाजन गरिन्छ । थ्रेसहोल्डको सीमा काट्न नसकेका दलहरू समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् ।

त्यसपछि एउटा सिट प्राप्त गर्नका लागि कति मतको आवश्यक हुन्छ त्यो संख्या निकालिन्छ । अब जुन दलले जति मत पाएको छ त्यो कुल मतअनुसार कति सिट पाउनुभयो ? भनेर निर्धारण गरिन्छ र सोहीअनुसार दलले समानुपातिकको सूचीमा रहेका सांसद्हरूलाई मनोनयन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?