पाकालाई पार्टी-युवालाई देश

Read Time = 14 mins

✍️ देवकी गौतम

२००३ सालमा स्थापना भएको नेपालको जेठो र परिपक्क पार्टी नेपाली कांग्रेस स्थापना कालदेखि यहाँसम्म आइपुग्दा भएका निर्वाचनहरूमा केही निर्वाचन यो पार्टीका लागि वसन्त ऋतुसरह भए भने केही निर्वाचनमा हारको सिरेटो व्यहोर्नु पर्‍यो । २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनबाट संघ र प्रदेशको निर्वाचन २०७९ सम्म आइपुग्दा कांग्रेस कहिले राष्ट्र हाँक्ने स्टेरिङ समाउने ठाउँमा त कहिले कुनाको सिटमा पुगेर जितको उमंगदेखि प्रतिपक्षमा बस्दाको अनुभूति सबै कुरा व्यहोरेको अनुभव भएको परिपक्क राजनीतिक दल बनेको छ ।

लामो समय नेपाली कांग्रेस पार्टीको जम्मिेवार कार्यकर्ता भएको नाताले स्थानीय, संघ र प्रदेशको निर्वाचन २०७९ लाई नजिकबाट नियाल्दै गर्दा यो निर्वाचनमा स्थापित राजनीतिक दलहरूप्रति वितृष्णाको शृंखला चलेको देखियो । स्थानीय तहमा देखिएको स्वतन्त्रको हुरी, संघ र प्रदेशको निर्वाचनमा पनि राकिएन । यसैको फलस्वरूप वर्षौंदेखि स्थापित पुराना दललाई चुनौती दिँदै केही नयाँ दलहरू र तिनका उम्मेदवार अत्यधिक मतसहित प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भइसकेका छन् । यस्तो अवस्थामा देशको ठूलो पार्टी कांग्रेसको एउटा सचेत, इमानदार कार्यकर्ता भएको नाताले मेरो घरभित्रका केही चुनौती र यसलाई पार गर्दै आफूलाई समयानुसार परिष्कृत गर्दै लैजानुपर्ने विषय वस्तुलाई सबैसामु कोट्याउन चाहन्छु ।

तीन महिनाअगाडि स्थापना भएका दलहरूले बाकसै घोप्ट्याए सरह भोट पाउँँदै गर्दा २०१५ सालको प्रथम संसदीय निर्वाचनमा १०९ स्थानमध्ये ७४ सिटमा विजयी भएको कांग्रेसले यसबीचमा गरेका राम्रा कामको प्रचार गर्न नसक्नु र राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पार्टी पंक्ति के के कुरामा चुक्यो भनेर निष्पक्ष विश्लेषण नहुनु अनि विश्वबाट लोप हुन लागेको र नेपालमा २०१५ सालमा ४ सिट जितेको कम्युनिष्ट पार्टी हरेक निर्वाचनमा कहिले फुट्ने र कहिले जुट्ने गर्दै नयाँनयाँ स्वरूपमा देखा परेर लोकतान्त्रिक शक्तिलाई सधैं चुनौती दिइरहेको कुरामा गम्भीर भएर सोच्नुपर्ने देखिएको छ ।

इतिहास हेर्ने हो भने केही दशकअगाडि नै नेपाली कांग्रेसका नेता सन्त पुरुष कृष्णप्रसाद भट्टराईले आदरणीय नेता शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्नका लागि उद्घोष गर्नुभएको कुराबाट के प्रष्ट हुन्छ भने नैतिकता र विवेक भन्ने कुरा व्यक्ति विशेषमा भर पर्ने कुरा हो ।

कुवाभित्र बसेर बाहिरको गहिराइ नाप्न नसकिए जस्तो नेतृत्वमा बस्ने तमाम साथीहरूले आमक्रियाशील र शुभेच्छुक मतदाताहरूको मनमा चलेको अहिलेको हुन्डरीलाई चिर्न नसकेको कुरा सत्य हो । हिजो राणा शासन फाल्न लडेको कांग्रेसको इतिहासको साखलाई जोगाउँदै लोकतन्त्र ल्याउँन र त्यसको रक्षाका लागि लडेको पार्टी नेपाली कांग्रेसको कारण लोकतन्त्रको बिरुवा फस्टाएर झ्यांगिइसकेको छ । झ्यांगिएको लोकतन्त्रको बिरुवाले फल दिने बेला भएको छ । कुनै पनि बिरुवाले आकार लिएपछि समयक्रमसँगै फल दिनुपर्ने कुरा प्रकृतिको नियमअन्तर्गत पर्दछ ।

बिरुवा जति हुर्किए पनि समयमा त्यसले फल दिएन भने आममानिसले त्यसको मूल बिउमाथि नै शंका गर्न थाल्दछन् । प्रश्न खडा गर्न लाग्दछन् । लोकतन्त्रका लागि ज्यान आहुति दिने शहीदहरूका सन्ततीले मात्र होइन आमजनताले आज नगदानगदी परिमाण खोजिरहेका छन् । समयमा नै वृक्षलाई फल दिने बनाउन सकिएन भने बेला घर्किएपछि गरेको मलजलको कुनै अर्थ रहँदैन । आममानिसले लोकतन्न्त्रिक व्यवस्थामाथि शंका गर्ने दिन आउनुभन्दा अगाडि नै समयको पदचापलाई बुझेर वृक्षले फल दिने लायकको वातावरण निर्माण गर्नु सबै राजनीतिक नेतृत्वको दायित्व र कर्तव्य हुन जन्छ । हरेक परिवर्तनहरूमा देशको अभिभावकीय भूमिका निर्वाह गरेको पार्टी कांग्रेसको चिन्तन यो विषयमा अझ बढी हुनुपर्दछ भन्ने मेरो ठम्याइ हो ।

विश्व राजनीतिलाई हेर्दा ठूलाठूला क्रान्तिको नेतृत्व गर्ने नेताहरू पनि समयसँगै विश्राम लिएका उदाहरण प्रशस्त छन् । हाम्रो देशमा यस्तो उच्च राजनीतिक संस्कारको विकास भइसकेको छैन तर इतिहास हेर्ने हो भने केही दशकअगाडि नै नेपाली कांग्रेसका नेता सन्त पुरुष कृष्णप्रसाद भट्टराईज्यूले आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई नेतृत्व हस्तान्तरण गर्नका लागि उद्घोष गर्नुभएको कुराबाट के प्रष्ट हुन्छ भने नैतिकता र विवेक भन्ने कुरा व्यक्ति विशेषमा पनि भर पर्ने कुरा हो ।

आर्यघाटसम्म पद लिएर जाने परिपाटीको अन्त्य गर्ने उद्घोष गर्दै, अबको पुस्ताले खोजेको राजनीतिक उपलब्धि र परिवर्तनका लागि राइट म्यान इन राइट प्लेसको धारणालाई आत्मसाथ गर्दै, पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण र रूपान्तरणको वकालत गर्दै पाँचपटक बनिसकेको प्रधानमन्त्री पदको गरिमालाई कायम राखेर आजसम्म भएका सकारात्मक कार्यको जस लिँदै पार्टीभित्रका युवालाई संसदीय दलको नेता बन्न प्रस्ताव गर्नुभयो भने वर्तमानमा मात्र होइन इतिहासले पनि उहाँलाई यथेष्ट सम्मान गर्ने कुरामा दुई मत नहोला ।

किनकि पार्टीलाई मटुमा र देशलाई शिरमा राखेर कर्म गर्न सकिएन भने समयमा आवाज नउठाएको अपजस पछिल्ला पुस्ताले हामीजस्ता कार्यकर्तालाई सबैभन्दा धेरै दिनेछन् । सही मानिसलाई बेलामा सही ठाउँमा जम्मिेवारी नदिएको कारणबाट मेरो देश र मेरो पार्टीले व्योहर्नुपर्ने क्षतिको आकलन गर्न नसक्नु र अड्कल काटेर पनि विभिन्न स्वार्थमा लिप्त भएर बोल्न नसक्नु यी दुवै चरित्रका मानिसहरू पार्टी र देशका लागि घातक हुन् ।

राजनीति विचारको आधारमा गरिन्छ । हिजो राजनीति गर्दा ज्यान दिनुपथ्र्यो । आज राजनीतिमा विचार दिए पुग्छ तर यही विचार दिन पनि हामी कन्जुसी गरिरहेका छौँ । सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा प्रजातन्त्रवादी र कम्युनिष्ट विश्वका दुईवटा विपरीत ध्रुव हुन् । हिजो बुलेटमा विस्वास गर्ने कम्युनिष्टलाई ब्यालेटबक्ससम्म ल्याउनका लागि कांग्रेसले जुन नेतृत्वदायी भूमिका खेल्यो त्यो अत्यन्त सराहनीय पक्ष हो । तर, त्यसको जससम्म पनि लिन हामीले सकेनौँ । १६५ निर्वाचन क्षेत्रमा ५५/६० सिट जित्नकै लागि तिनै कम्युनिष्टको एउटा टुकडीसँग गठबन्धन गरेर जानुपर्ने बाध्यता हामीले जनतालाई बुझाउन सकेनौँ ।

समानुपातिक कोटालाई समानुपातिकको मर्मअनुरूप वितरण गर्न नसक्नु र समानुपातिक कोटा भनेको नेताको आफन्त र हुनेखानेका लागि मात्र बनेको जस्तो देखिनु, सांसद हुनका लागि हरेक दुःखसुखमा जनताको दैलो चहार्ने व्यक्तिभन्दा नेताको ठेलो चहार्नेलाई ठूलो निष्ठावान् ठानेर प्राथमिकतामा राख्नु समानुपातिकमा मत कम आउनुका कारणहरू रहे ।

गठबन्धन कांग्रेसको रहर थिएन र पद, सत्ता र शक्तिका लागि मात्र थिएन भन्ने कुराको चित्तबुझ्दो जवाफ जनतालाई दिन नसक्नु पनि हाम्रो कमजोरी रहृयो । आन्तरिक अधिवेशनमा कार्यकर्ताबाट अनुमोदित हुन नसकेका पात्रहरूलाई गुटको नाममा जबरजस्ती जिम्मेवारीको भारी बोकाएर तिनै मानिसले टिकट वितरणको डाडुपुन्यु समातेर गरेको निर्णयमा ताली बजाउनुपर्ने परिपाटीको अन्त्य यस पालि पनि हुन सकेन ।

अर्को महत्वपूर्ण कुरा समानुपातिक कोटालाई समानुपातिकको मर्मअनुरूप वितरण गर्न नसक्नु र समानुपातिक कोटा भनेको नेताको आफन्त र हुनेखानेका लागि मात्र बनेको जस्तो देखिनु, सांसद हुनका लागि हरेक दुःखसुखमा जनताको दैलो चहार्ने व्यक्तिभन्दा नेताको ठेलो चहार्नेलाई ठूलो निष्ठावान् ठानेर प्राथमिकतामा राख्नु पनि समानुपातिकमा मत कम आउनुका कारणहरू रहे भन्ने आममतदाताको बुझाइलाई नकार्न सक्ने तर्क गर्ने क्षमता केन्द्रीय तहमै राजनीति गर्ने नेताहरूसँग पनि देखिएन ।

म र म जस्ता नेपाली कांग्रेसका लाखौं कार्यकर्तालाई पार्टीबाट खासै ठूलो अपेक्षा केही छैन । हाम्रो भविष्य पार्टी नेतृत्व र त्यसले लिने अबको गतिमा अन्तर्निहित रहेको कुरा सत्य हो । तर, तपाईंहरू जो राज्यको जिम्मेवारीपूर्ण पदमा बसेर काम गरिरहँदा जति गर्नुभएको छ, त्यसभन्दा धेरै गर्नु जरुरी भएको कुरा समयले माग गरिरहेको छ । सही कति गर्नुहुन्छ त्यसको मूल्यांकन समयले अवश्यै गर्ला तर जो जति जहाँबाट निर्वाचित भएर जानु भएको छ, गलत गर्ने छुट तपाईंहरू कसैलाई अब समयले र कार्यकर्ताले दिने छैनन् ।

किनकि मलाई कांग्रेसको कार्यकर्तामात्र होइन समग्र देशको विकासमा अग्रणी भूमिका खेल्न सामथ्र्य राख्ने र वर्षौं जनताको मन मुटुमा बसेर युवा, महिला, दलित, मुस्लिम, जनजाति, पिछडा वर्ग र आवाजविहीनहरूको आवाज बनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरूमा शिर ठाडो पारेर दर्बिलो आवाज गुञ्जने नेपाली कांग्रेसको कार्यकर्ता बन्नु छ । त्यसका लागि पार्टी नेतृत्वको मति र अबको कांग्रेसले लिने गतिले मुख्य भूमिका निर्वाह गर्दछ । हामी यस्तो मोडमा छौँ कि त सच्चिनु पदर्छ होइन भने सक्किन तयार हुनुपर्दछ । (गौतम नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?