नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्छः मन्त्री कुँवर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ ।

आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताउनु भयो ।

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताउनु भयो ।

उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताउनु भयो । उहाँले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताउनु भयो । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन । मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने । हामी खाडीमा गइरहेका छाैं, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमीकहरु छैनन् । हाम्रा श्रमीकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने ? यस बारेमा सोच्नुपर्छ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । भिजिट र लुकेर गएकाको संख्या कति हो यकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरुलाई केही पनि सुविधा दिँदैन । श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा छ, अरु अरु सुविधा छ । यो कुरालाई सञ्चारमाध्यमले ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो । अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरुको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाव नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’

मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?