अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनलमा

Read Time = 5 mins

दोहा । नेदरल्याण्ड्स र अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान सम्पन्न अन्तिम १६ को आ-आफ्नो खेल जित्दै दुवै टोलीले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । कतारको अहमद विन अली रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई दुई-एक गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्नुभयो । पेनाल्टी क्षेत्रबाहिरबाट बल अघि बढाउँदै उहाँले विपक्षी डिफेन्डरहरूको बीचबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ५८औँ मिनेटमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले दोस्रो गोल गर्नुभयो । गोलरक्षक म्याट रायनबाट फुस्किएको बललाई अल्भारेजले पोस्टको दिशा दिनुभएको थियो । ७७औँ मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि सान्त्वना गोल फर्काउनुभयो । उहाँले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै गोलमा परिणत भएको थियो ।

७९औँ मिनेटमा अष्ट्रेलियाका लागि बराबरी गर्ने सुन्दर मौका थियो तर अजिज बेहिचले गरेको सशक्त प्रहारमा अर्जेन्टिनी किपर मार्टिनेजले सानदार बचाउ गर्नुभयो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा आगामी शुक्रबार नेदरल्याण्ड्सको सामना गर्नेछ ।

यो खेल अर्जेन्टिनी स्टार मेस्सीका लागि महत्वपूर्ण पनि रहृयो । उहाँले आफ्नो करिअरको एक हजारौँ खेल खेल्नुभयो । उहाँ खेलको म्यान अफ द म्याचसमेत चुनिनुभयो । देशका लागि मेस्सीको यो १६९औँ खेलसमेत हो । अर्जेन्टिनी कप्तानका रूपमा भने मेस्सीको यो १००औँ खेल थियो । समग्रमा उहाँले ७८९ गोल गरिसक्नुभएको छ । त्यसमध्ये अर्जेन्टिनाका लागि ९४ गोल गर्नुभएको छ । जारी कतार विश्वकपमा उहाँ तीन गोल गर्दै सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ ।

३६ वर्षीय मेस्सीले एक स्टेप अझै उपाधि नजिक पुग्दा खुशी व्यक्त गर्नुभयो । खेलपछि उहाँले भन्नुभयो, ‘म हाम्रो उद्देश्य प्राप्तिको एक कदम अझै अगाडि पुग्न पाउँदा खुशी छु । यो निकै प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण खेल थियो ।’

यस्तै, खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको नकआउट चरणको अर्को खेलमा अमेरिकालाई तीन-एक गोलअन्तरले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गर्‍यो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एक–एक गोल गर्नुभयो । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काउनुभयो ।

खेलको १०औँ मिनेटमा नेदरल्याण्ड्सका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गर्नुभयो र खेलमा अग्रता दिलाउनुभयो । पहिलो हाफको अतिरिक्त समयमा नेदरल्याण्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २–० को अग्रता लियो ।

खेलको ७६औँ मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गर्नुभए पनि खेलको ८१औँ मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?