स्कटल्याण्डसँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) क्रिकेट सिरिजमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा आइतबार सम्पन्न खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । स्कटल्यान्डका क्रिस्टोफर मिकब्राइड ४७ बलमा ७ चौकासहित ४३ रन जोड्नुभयो । यस्तै ब्रेन्डन म्याकमलनले नेपालका सागर ढकाललाई छक्का प्रहार गर्दै विजयी रन बटुल्नुभएको थियो । म्याकमलन ३४ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहनुभयो ।

त्यसबाहेक मिचेल लिक्सले २२ तथा जर्ज मुन्सीले १७ रन जोड्नुभयो । नेपालका लागि सागर ढकाल, ललितनारायण राजवंशी र गुल्सन झाले समान दुई/दुई विकेट लिनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पार्नुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनमात्रै जोड्नसक्नुभयो । गुलशनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गर्नुभएको थियो ।

ज्ञानेन्द्र मल्ल २५, अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट हुनुभयो । अर्जुनले ४४ बल खेल्दै ३ चौका प्रहार गर्नुभयो । ज्ञानेन्द्र मल्लले ३९ बलमा ३ चौका प्रहार गर्नुभएको थियो । यस्तै आरिफ शेखले १० रन जोड्दा नेपालका ६ ब्याटरले दोहोरो अंक जोड्न सक्नुभएन ।

नेपालको सुरुवात राम्रो थिएन । ओपनर आसिफ शेख तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको तेस्रो ओभरको चौथो बलमा एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट ७ रनमा क्याच आउट हुनुभयो । दोस्रो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लबीच ३७ रनको साझेदारी भएपनि त्यसपछि भने नेपाली ब्याटरहरू चल्न सकेनन् ।

नेपालका कुशल भुर्तेल गोल्डेन डक हुनुभयो । दीपेन्द्रसिंह ऐरी ९, करण केसी ८ रन, सागर ढकाल ४ र ललित नारायण राजवंशीले ३ रनमा पवेलियन फर्कनुभयो ।

स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिनुभयो । मार्क वाट्ले ८.१ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिनुभयो । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले एक/एक विकेट लिनुभयो ।

यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागिता रहेको छ । यसअघि सिरिजमा नेपालको नामिबियासँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले अब बुधबार नामिबिया र बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

सात टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्ड ३० खेलमा ४४ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा रहेको छ । स्कटल्यान्ड ३० खेलमा २१ मा जित र सातमा हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?